अब वास्तविक मूल्यका आधारमा भन्सार लिइने

सरकारले वस्तु आयातमा सन्दर्भ मूल्यका आधारमा लिँदै आएको भन्सार प्रणाली हटाएर वास्तविक बिजकका आधारमा भन्सार लिने व्यवस्था सुरु गर्न लागेको छ।
यसका लागि भन्सार विभागले ‘अनलाइन भ्यालुएसन डेटाबेस’ नामक प्रणाली बुधबारदेखि विराटनगर भन्सार कार्यालयमार्फत पाइलटिङका रूपमा कार्यान्वयनमा ल्याउने भएको छ। सो प्रणालीको औपचारिक सुरुवात अर्थमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले गर्नेछन्।
भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार अनलाइन भ्यालुएसन डेटाबेस लागू भएपछि आयातित वस्तुको भन्सार मूल्य घोषणा, तथ्यांक संकलन, भण्डारण र विश्लेषण गर्न सहज हुनेछ। यसले वस्तुको न्यून वा अधिक मूल्यांकन हुने जोखिम कम गर्नेछ।
भण्डारीका अनुसार यो प्रणाली अन्तर्राष्ट्रिय स्तरमा प्रचलित ‘आशिकुडा’ प्रणालीसँग जोडिनेछ। यसले आयातित वस्तुको पछिल्ला ९० दिनसम्मको मूल्य गणना गरी वास्तविक मूल्य देखाउनेछ।
“आयातकर्ताले घोषणा गरेको मूल्य वास्तविक हो कि होइन भन्ने कुरा पनि यस प्रणालीले पुष्टि गर्छ। अनलाइन भ्यालुएसन डेटाबेस लागू भएपछि अहिलेको सन्दर्भ मूल्य प्रणाली क्रमशः खारेज हुँदै जानेछ,” भण्डारीले बताए। उनका अनुसार यो प्रणाली लागू भएपछि भन्सार मूल्य देशैभर अद्यावधिक हुने र अन्तर्राष्ट्रिय बजारमा कस्तो मूल्यमा सामान आयात भइरहेको छ भन्ने तथ्यांक उपलब्ध हुने भएकाले न्यून वा अधिक मूल्यांकनको समस्या समाधान हुने छ। यसले आयातकर्ता र भन्सार अधिकारी दुवैलाई सहजता दिने अपेक्षा गरिएको छ।
नेपालमा सन्दर्भ मूल्य प्रणाली २०६४ सालदेखि प्रयोगमा आए पनि २०७५ सालमा ‘भन्सार मूल्यांकन निर्देशिका’ ल्याएर अनिवार्य रूपमा लागू गरिएको थियो। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाको पहलमा यसलाई संस्थागत गरिएको भए पनि सन्दर्भ मूल्य यथार्थपरक नहुँदा आयातकर्ताले सास्ती खेप्नुपरेको व्यवसायीहरूको गुनासो रहँदै आएको थियो।
सन्दर्भ मूल्यका कारण पूँजी पलायन, वास्तविक मूल्यभन्दा बढी वा कम मूल्यांकन हुने समस्या देखिएको भन्दै व्यवसायीहरूले निरन्तर यसलाई खारेज गर्न माग गर्दै आएका थिए। चालु आर्थिक वर्षको बजेटमा पनि सन्दर्भ मूल्य हटाएर वास्तविक मूल्यका आधारमा भन्सार लिने व्यवस्था गर्ने घोषणा गरिएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस