शेयरमा दशैंको प्रभाव : कारोबार रकम ३ अर्ब २६ करोडमा झर्यो

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २.३५ अंकले घट्दै नेप्से परिसूचक २६५२ अंकमा झरेको छ।
कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब १२ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब २६ करोडमा सीमित भयो। दशैंको प्रभावले सेयर कारोबार सुस्ताएको हो। लगानीकर्ताले खरिद गरे पनि दशैंअघि डिम्याट खातामा सेयर नपुग्ने र बिक्री गर्दा बैंक खातामा रकम नआउने भएकाले खरिद–बिक्रीमा अनिच्छा देखिएको हो। बजार अब आइतबार मात्र खुल्नेछ।
आज १०७ कम्पनीको मूल्य बढ्दा १३९ कम्पनीको घट्यो भने ५ कम्पनीको मूल्य स्थिर रह्यो। अधिकांश सेक्टरको सूचक घटेका छन्। बैंकिङ ०.१२, लगानी ०.२१ र व्यापार समूह १.३६ प्रतिशतले बढे। तर विकास बैंक ०.४४, फाइनान्स ०.५०, होटल तथा पर्यटन १.४९, हाइड्रोपावर ०.०४, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.०९, निर्जीवन बीमा ०.३९ र अन्य समूह ०.४९ प्रतिशतले घटे।
कम्पनीगत मूल्य परिवर्तनमा हिमस्टार ऊर्जाको मूल्य १० प्रतिशतले उछालिँदै सबैभन्दा बढी बढ्यो। कालिका पावरको ६.७२ र गुराँस लघुवित्तको ६.२९ प्रतिशतले वृद्धि भयो। तर सिटी होटलको मूल्य ७.५५ प्रतिशतले घट्दै सबैभन्दा ठूलो गिरावट देखियो। नारायणी डेभलपमेन्ट बैंक ५.८५ र समता घरेलु लघुवित्त ४.७४ प्रतिशतले घटे।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, कालिका पावर र लुम्बिनी विकास बैंक क्रमशः अगाडि रहे।
तपाईको प्रतिक्रिया दिनुहोस