Techie IT
२०८३ भाद्र २८, आइतबार

फोनपेमा राजेन्द्र खेतानसहित नयाँ लगानीकर्ताको प्रवेश


नेपाल राष्ट्र बैंकले फोनपे पेमेन्ट सर्भिसको २२.३७ प्रतिशत सेयर बिक्रीका लागि स्वीकृति दिएको छ।

कम्पनीका संस्थापक सेयरधनी असगर अली र एफवान सफ्ट इन्टरनेसनल प्रालिले बिक्रीका लागि स्वीकृति पाएका हुन्। अलीले ४ लाख १२ हजार कित्ता र एफवान सफ्टले ७ लाख ४० हजार ११ कित्ता गरी कुल ११ लाख ५२ हजार ११ कित्ता सेयर बिक्री गर्ने भएका छन्। यो कम्पनीको कुल सेयरको २२.३७ प्रतिशत हो।

राष्ट्र बैंकका अनुसार फोनपेको मूल्यांकन करिब ६ अर्ब ७७ करोड रुपैयाँ गरिएको छ। सोअनुसार करिब साढे २२ प्रतिशत सेयर करिब १ अर्ब ५० करोड रुपैयाँमा किनबेच भएको छ।

उक्त सेयर खरिदकर्तामध्ये उद्योगपति राजेन्द्र खेतान रहेका छन्। खेतानले कुल ७ लाख २१ हजार कित्ता सेयर खरिद गर्नेछन्। जसमा अलीका २ लाख ६ हजार र एफवान सफ्टका ५ लाख १५ हजार कित्ता सेयर पर्छन्। यसरी खेतानको फोनपेमाथि करिब १४ प्रतिशत सेयर स्वामित्व कायम हुनेछ।

नेपालकै ठूला औद्योगिक घरानामध्ये एक मानिने खेतान ग्रुप बैंक तथा वित्तीय संस्था, बीमा र पुँजी बजारलगायत क्षेत्रमा सक्रिय छ। उनीहरूको लगानी लक्ष्मी सनराइज बैंक, एभरेस्ट हिमालयन इन्स्योरेन्स, म्युचुअल फन्ड कम्पनी र भेन्चर क्यापिटलमा समेत रहेको छ।

खेतान बाहेक अन्य सेयर खरिदकर्तामा नेपाल इम्प्याक्ट फन्ड–१, स्वेडा इन्भेस्टमेन्ट, लक्ष्मी माइक्रो इन्भेस्ट, पर्सा होल्डिङ्स, नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड, नेपाल इम्प्याक्ट ग्रोथ इक्वीटी फन्ड–१, जीजीसी इन्भेस्टमेन्ट र डिजे श्रेष्ठ रहेका छन्। यीमध्ये धेरै कम्पनीमा पनि खेतानकै संलग्नता रहेको स्रोतले जनाएको छ।

फोनपेमा हाल असगर अली र एफवान सफ्ट इन्टरनेसनलको लगानी छ। २०७६ सालमा नेपाल राष्ट्र बैंकबाट ‘पेमेन्ट सिस्टम अपरेटर’ को इजाजतपत्र प्राप्त फोनपे नेपालकै डिजिटल भुक्तानी क्षेत्रमा अग्रणी कम्पनी मानिन्छ।

हाल फोनपेको नेटवर्कमा १९ वटा वाणिज्य बैंक, १४ वटा विकास बैंक, १४ वटा फाइनान्स कम्पनी, ९ वटा वालेट र एक माइक्रोफाइनान्स कम्पनी आवद्ध छन्। नेपालमा क्यूआर कोडमार्फत हुने डिजिटल कारोबारमध्ये ९० प्रतिशतभन्दा बढी फोनपे मार्फत हुने गरेको छ। साथै, यसले नेपाल–भारत अन्तरदेशीय भुक्तानी सेवासमेत सञ्चालन गर्दै आएको छ।

फोनपेको माउ कम्पनी एफवान सफ्टले ई–सेवा डिजिटल वालेट पनि सञ्चालन गर्छ। यसमा विश्वास ढकाल, सम्भव सिरोहिया, सुवास शर्मा र सुवास सापकोटाको लगानी छ। कम्पनीले फिनटेक क्षेत्रमा लगानीलाई विविधीकरण गर्ने उद्देश्यसहित फोनपेको सेयर बिक्री गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट