ढिला अनुसन्धानले जलेका पैसाको प्रमाण गुम्ने खतरा: सम्पत्ति शुद्धीकरण विभाग किन सुस्तायो?

पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक खड्काको घरमा २४ भदौको जेन–जी आन्दोलनको क्रममा भएको आगजनीमा नेपाली र विदेशी मुद्रा जलेको भन्दै फैलिएका भिडियो र तस्बिरको आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ। तर विभागले करिब दुई सातापछि मात्रै घटनास्थल मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको हो।
२४ भदौको आन्दोलनका क्रममा प्रदर्शनकारीले देउवा, खड्का र दाहालको घरमा तोडफोड तथा आगजनी गरेका थिए। त्यस क्रममा घरभित्रबाट मानिसले पैसा निकालिरहेको, नोट जलेको र भग्नावशेषमा पैसाका टुक्रा देखिएको भिडियो सामाजिक सञ्जालमा तत्कालै फैलिएका थिए। यद्यपि सरकारले आगजनीको भोलिपल्ट मात्र ती घर वरिपरि प्रहरी सुरक्षा प्रदान गरी प्रवेशमा रोक लगाएको थियो।
विभागको टोली ५ असोजमा बूढानीलकण्ठस्थित देउवा र खड्काको निवास पुगेको र ७ असोजमा खुमलटारस्थित दाहालको घर पुगेको बताइएको छ। टोलीले जलेका नोटका टुक्रा, खरानी र अन्य सामग्री संकलन गरी परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको विभागका एक अधिकारीले जानकारी दिएका छन् । “सामाजिक सञ्जालमा गड्डीका गड्डी रकम देखाइएका थिए, प्रारम्भिक स्क्रिनिङपछि आवश्यक अनुसन्धान सुरु गरिएको हो,” उनले भने।
देउवाको सचिवालयले भने सार्वजनिक भिडियोको खण्डन गरेको छ। देउवाका स्वकीय सचिव भानु देउवाले जारी गरेको वक्तव्यमा सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोलकल्पित, अतिरञ्जित र दूषित मनसायले फैलाइएको दाबी गरिएको छ।
पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणामाथि विगतदेखि नै अवैध सम्पत्ति आर्जन तथा राजनीतिक शक्तिको दुरुपयोगको आरोप लाग्दै आएको छ। देउवा २०४८ सालदेखि निरन्तर सार्वजनिक पदमा रहँदै आएका छन् र पाँच पटक प्रधानमन्त्री बनिसकेका छन्। आरजु राणा समेत पटक–पटक सांसद रहँदै विभिन्न विवादमा तानिएकी छिन्, तर ठोस अनुसन्धान भने भएको छैन।
माओवादी अध्यक्ष दाहालमाथि पनि सशस्त्र द्वन्द्वकालीन बैंक/वित्त संस्था लुटपाटदेखि शान्ति प्रक्रियापछि लडाकु भरणपोषणको रकम हिनामिनासम्मका आरोप लाग्दै आएका छन्। तर ती आरोपमा समेत अहिलेसम्म ठोस छानबिन भएको छैन। कांग्रेस नेता दीपक खड्का ऊर्जा मन्त्रालयमा हुँदा जलविद्युत् आयोजनाको लाइसेन्स र ठेक्कापट्टामा अनियमितता गरेको भन्दै विवादमा परेका थिए।
सामाजिक सञ्जालमा देउवा, दाहाल र खड्काको घरमा जलेका नोट, उडिरहेको पैसा, बंकरमा लुकाइएको नगद देखाउने जस्ता अनेक भिडियोहरू भाइरल बनेका छन्। केही भिडियोको तथ्य जाँच गर्दा वास्तविक देखिएका छन् भने केही पुराना वा अन्य स्थानका दृश्य प्रयोग गरेर भ्रामक बनाइएको पाइएको छ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले समेत हालै राष्ट्रका नाममा सम्बोधन गर्दै विगतका भ्रष्टाचार प्रकरणमा स्पष्ट जानकारी भइसकेको भन्दै दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएकी छिन्।
नेपाल राष्ट्र बैंक मातहतको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संकलित प्रमाणको परीक्षणपछि आवश्यक थप अनुसन्धान अघि बढाउने जनाएको छ। विभागले वाणिज्य बैंक र अन्य स्रोतबाट प्राप्त वित्तीय विवरणसमेत केलाएर छानबिन गर्ने तयारी गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस