Techie IT
२०८२ असोज २२, बुधबार

कोरला नाका स्तरोन्नति र सञ्चालनमा सरकारको ध्यान दिन महासंघ अध्यक्ष ढकालको आग्रह


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङको नेपाल–चीन सीमा नाका कोरलालाई थप स्तरोन्नति र व्यवस्थित सञ्चालन गर्न नेपाल सरकारलाई आग्रह गरेका छन्।

महासंघको गण्डकी प्रदेश समिति र यसअन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघको नेतृत्वसँगै आज कोरला नाका निरीक्षणपछि उनले यो आग्रह गरेका हुन्।

अध्यक्ष ढकालले भने, “कालीगण्डकी करिडोर बनेपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग बन्नेछ। यसलाई त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधि प्रवर्द्धनका लागि उपयोग गर्न सकिन्छ, त्यसतर्फ सरकारले गम्भीर ध्यान दिनुपर्छ।”

उनका अनुसार, नाकाका लागि आवश्यक पूर्वाधार नेपालतर्फ अपर्याप्त भएकाले तत्काल पूर्वाधार निर्माण, भन्सार कार्यालयलाई व्यवस्थित र सहज बनाउने तथा चाँडै अध्यागमन सेवा सुरु गर्नुपर्ने छ। उनले भने, “१२ दिनअघि सञ्चालनमा आएको भन्सार कार्यालयबाट मात्रै हालसम्म करिब रु १ अर्ब ४० करोड राजस्व संकलन भइसकेको छ, जसले यो नाकाको सम्भावना स्पष्ट देखाउँछ।”

ढकालले चीनको ल्हासाबाट रसुवासम्म पुग्न दुई दिन लाग्नेमा कोरलासम्म एकै दिनमा पुग्न सकिने भएकाले यो मार्ग चिनियाँ पर्यटकका लागि छोटो र सहज हुने बताएका छन् । मानसरोवर जानका लागि पनि कोरला मार्ग छोटो हुने भएकाले आवतजावतलाई अझ व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ।

ढकालका अनुसार गत वर्ष मात्र मुस्ताङमा करिब ७ लाख आन्तरिक तथा विदेशी पर्यटक पुगेका थिए। मुक्तिनाथ, दामोदरकुण्ड लगायतका धार्मिक गन्तव्य र मानसरोवर जाने छोटो बाटो भएकाले नेपाली र भारतीय पर्यटकका लागि पनि यो नाका महत्वपूर्ण हुने उनको धारणा छ।

ढकालले माथिल्लो मुस्ताङ प्रवेशका लागि विदेशी पर्यटकबाट असुलिँदै आएको ५०० अमेरिकी डलर शुल्क अव्यावहारिक भएको भन्दै त्यसमा तत्काल पुनर्विचार गर्न पनि सरकारसँग माग गरेका छन् ।

उनले कालीगण्डकी करिडोर छिटो सम्पन्न गर्न र कोरला नाकालाई दिगो र व्यवस्थित ढंगले सञ्चालनका लागि सरकार र सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने उल्लेख गर्दै, निजी क्षेत्र पनि आवश्यक सहयोग र पहलका लागि तयार रहेको स्पष्ट पारेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट