Techie IT
२०८२ असोज २९, बुधबार

मुस्ताङमा स्याउ उत्पादन बढ्यो, एक अर्बभन्दा बढीको कारोबार


मुस्ताङमा यो वर्ष स्याउ उत्पादन गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ। कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार गत वर्ष ७,२३८ मेट्रिकटन स्याउ उत्पादन भएकोमा यस वर्ष ७,६३६ मेट्रिकटन स्याउ उत्पादन भएको छ।

गत वर्ष ९१ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको स्याउ बिक्री भएकोमा यस वर्ष उत्पादन मूल्य एक अर्ब १० करोड रुपैयाँ नाघेको केन्द्रले जनाएको छ।

कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङका अनुसार, स्थानीय किसानका फरक–फरक बगैँचाको अनुगमन, स्याउको क्रप कटिङ र स्थानीय तहका कृषि शाखाबाट प्राप्त तथ्याङ्कका आधारमा उत्पादनको परिमाण निकालिएको हो।

उनका अनुसार, यस वर्ष मुस्ताङको ८० प्रतिशत स्याउ जिल्लाबाहिर निकासी भइसकेको छ भने १० प्रतिशत जिल्लामै खपत भएको छ। बाँकी १० प्रतिशत स्याउ हार्भेस्ट गर्न अझै बाँकी छ।

यो वर्ष मात्रै ६,१०८ मेट्रिकटन स्याउ जिल्लाबाहिर निकासी हुँदा ८६ करोड १८ लाख ४० हजार रुपैयाँ आम्दानी भएको छ। त्यस्तै, ७६३ मेट्रिकटन (११ करोड दुई लाख ३० हजार बराबर) स्याउ जिल्लामै खपत भएको छ। अहिले पनि करिब ७६३ मेट्रिकटन स्याउ हार्भेस्ट हुन बाँकी छ।

हाल मुस्ताङमा कुल ८३२ हेक्टर क्षेत्रमा स्याउखेती भइरहेको छ। यसमध्ये ८३२ हेक्टरमध्ये ७७२ हेक्टर स्थानीय जातका र ६० हेक्टर उच्च घनत्वका हाइब्रिड स्याउका बगैँचा छन्। यस वर्ष स्थानीय स्याउको उत्पादन ६,०६९ मेट्रिकटन र हाइब्रिड स्याउको उत्पादन १,५६७ मेट्रिकटन पुगेको छ।

उत्पादन मूल्यका हिसाबले स्थानीय स्याउबाट ७८ करोड ८९ लाख ७० हजार रुपैयाँ र हाइब्रिड स्याउबाट ३१ करोड ३४ लाख रुपैयाँ बराबरको उत्पादन भएको केन्द्रले जनाएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार, अहिले स्थानीय स्याउ प्रतिकेजी रु. १३० र हाइब्रिड स्याउ प्रतिकेजी रु. २०० मा बिक्री भइरहेको छ। यस वर्ष स्थानीय स्याउको प्रतिहेक्टर उत्पादकत्व १०.४१ मेट्रिकटन र हाइब्रिड स्याउको २६.१२ मेट्रिकटन रहेको छ।

गत वर्ष स्थानीय स्याउको उत्पादकत्व प्रतिहेक्टर १०.७४ मेट्रिकटन रहेकोमा यस वर्ष ०.३३ मेट्रिकटन घटेको छ। तर हाइब्रिड स्याउको उत्पादकत्व गत वर्षको २५ मेट्रिकटनबाट बढ्दै यस वर्ष १.१२ मेट्रिकटनले वृद्धि भएको छ। समग्रमा मुस्ताङको औसत प्रतिहेक्टर उत्पादकत्व ११.८७ मेट्रिकटन पुगेको केन्द्रले जनाएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख गुरुङका अनुसार, यस वर्ष मुस्ताङको तल्लो क्षेत्रमा स्थानीय जातका स्याउ उत्पादनमा आंशिक कमी देखिएको छ भने माथिल्लो क्षेत्रमा उत्पादनमा खासै असर परेको छैन।

स्याउ उत्पादन वृद्धि हुने मुख्य कारण स्याउखेती क्षेत्रफल विस्तार हो। गत वर्ष ५६६ हेक्टरमा स्थानीय जातका स्याउखेती भएकोमा यस वर्ष १३ हेक्टर थपिँदै ५८३ हेक्टर पुगेको छ। त्यस्तै, उच्च घनत्वका हाइब्रिड स्याउखेती क्षेत्र गत वर्षको ५० हेक्टरबाट बढ्दै ६० हेक्टर पुगेको केन्द्रले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट