तीन महिनामा वैदेशिक व्यापार २६% ले बढ्यो, व्यापार घाटा १२% ले वृद्धि
चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन-असोज) मा नेपालको वैदेशिक व्यापार २६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । भन्सार विभागले जारी गरेको तथ्यांक अनुसार, यस अवधिमा कुल ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो तीन महिनामा ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको व्यापार भएको थियो ।
निर्यातमा करिब ९० प्रतिशतको वृद्धि
विभागको तथ्यांक अनुसार, समीक्षा अवधिमा निर्यातमा उल्लेख्य उछाल देखिएको छ । चालू आवको तीन महिनामा ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको वस्तु नेपालबाट निर्यात भएको छ ।
यो अघिल्लो आवको सोही अवधिको तुलनामा ८९.६४ प्रतिशतको उच्च वृद्धि हो । गत वर्षको यसै अवधिमा नेपालले ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको मात्र वस्तु निर्यात गरेको थियो ।
निर्यातसँगै वस्तु आयातमा पनि वृद्धि जारी रहेको छ । चालू आवको पहिलो तीन महिनामा ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको (३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख) तुलनामा १९.७९ प्रतिशतले बढी हो ।
निर्यातमा उच्च वृद्धि भए तापनि आयातको विशाल आकारका कारण देशको समग्र व्यापार घाटा भने बढ्न रोकिएको छैन ।
भन्सार विभागका अनुसार, चालू आवको पहिलो त्रैमासमा नेपालले ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १२.१८ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा नेपालको व्यापार घाटा ३ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस