Techie IT
२०८२ कार्तिक ११, मंगलबार

तिहारपछि सेयर बजारमा निरन्तर वृद्धि, नेप्से ६२ अंकले उकालो


तिहारपछिको हप्ता सुरु भएदेखि सेयर बजार लगातार उकालोतर्फ लागिरहेको छ। बजार विश्लेषकहरूका अनुसार देशको राजनीतिक र आर्थिक अवस्था सामान्यतर्फ फर्कँदै जाँदा लगानीकर्ताको मनोबल बढेको देखिन्छ।

आज मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले उकालो लाग्दै २५७१ अंकमा पुगेको छ। कारोबार खुलेको केही मिनेट बजार रातो देखिए पनि १० मिनेटपछि हरियो रह्यो र दिनभरै उकालोको लय कायम रह्यो।

आजको कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो आइतबार २ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। २३६ कम्पनीको मूल्य बढ्दा १२ कम्पनी घटे र २ कम्पनी स्थिर रहे।

क्षेत्रगत सूचकमा विकास बैंक समूह सबैभन्दा धेरै ४.४७ प्रतिशतले बढ्यो। बैंकिङ १.९२, फाइनान्स ३.१४, होटल तथा पर्यटन २.८०, हाइड्रोपावर ३.९०, लगानी ३.१९, जीवन बीमा ३.५५, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स २.५९, निर्जीवन बीमा २.५४ र अन्य समूह १.९१ प्रतिशतले उकालो लागेका छन्।

तीन कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो। तीमध्ये न्यादी हाइड्रोपावर, बुटवल पावर र एक्सल डेभलपमेन्ट बैंक छन्। यस्तै, राधि विद्युत ९.६०, लुम्बिनी विकास बैंक ९.३५, सिंगटी हाइड्रो इनर्जी ८.२१ र फर्स्ट माइक्रोफाइनान्स ८.१२ प्रतिशतले बढे।

उता, हिमालयन पावर पार्टनरको मूल्य ६.३६ प्रतिशतले घट्दै सबैभन्दा धेरै ओरालो लागेको छ। युनिलिभर नेपाल ३.८८ र बोटलर्स नेपाल बालाजु ३.७७ प्रतिशतले घटेका छन्।

आज सर्वाधिक कारोबार भएका कम्पनीहरूमा हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, राधि विद्युत, बुटवल पावर र एनआरएन इन्फ्रास्ट्रक्चर रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट