साताको दोस्रो दिन नेप्सेमा गिरावट, सबै उपसमूहको परिसूचक घट्यो
                                                            सेयर बजार मापक नेप्से परिसूचक मङ्गलबार पनि घटेको छ। सोमबार ८.२४ अङ्कले ओरालो लागेको नेप्से मङ्गलबार पनि त्यसैको निरन्तरता कायम राख्दै २७.६४ अङ्कले घटेर २५९५.२४ विन्दुमा झरेको हो।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.९३ अङ्कले, फ्लोट इन्डेक्स १.९१ अङ्कले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३० अङ्कले घटेको छ।
आज ३२२ कम्पनीका १ करोड ३ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएका छन्, जसको कुल मूल्य ५ अर्ब १५ करोड ७ लाख ६८ हजार रुपैयाँ पुगेको छ। सोमबारको कारोबार रकम ६ अर्ब ५ करोड रुपैयाँ रहेकोमा आज कारोबार रकम पनि घटेको छ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमध्ये वित्त उपसमूह २.२१ प्रतिशतले घटेको छ भने जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, अन्य र विकास बैंक उपसमूहहरू पनि १ प्रतिशतभन्दा बढी घटेका छन्।
आजको कारोबारमा माबिलुङ एनर्जी लिमिटेडको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। तर मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी शीर्षस्थ रह्यो, जसको कारोबार २७ करोड रुपैयाँ बराबरको भएको छ।



    
तपाईको प्रतिक्रिया दिनुहोस