काँग्रेस नेता कान्छारामको कम्पनीसँग हुलाकी सडक आयोजनाको ठेक्का तोड्ने तयारी
काँग्रेस नेता कान्छाराम तामाङको निर्माण कम्पनीसँग हुलाकी सडक आयोजनाले ठेक्का सम्झौता तोड्ने अन्तिम तयारी गरेको छ।
६ वर्षदेखि अलपत्र रहेको गढवा–कालाकाँटे हुलाकी सडक निर्माणमा कम्पनीको लापरबाहीका कारण अपेक्षित प्रगति हुन नसकेपछि हुलाकी सडक आयोजना, नेपालगन्जले ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको हो।
दाङ सडक खण्डअन्तर्गत गढवादेखि वनघुस्रीसम्म करिब २० किलोमिटर सडक निर्माणका लागि हुलाकी सडक आयोजनाले २०७६ कात्तिक २९ गते बज्रगुरु काञ्छाराम जेभी, काठमाडौंसँग ६५ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौता अनुसार तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने भए पनि कम्पनीको लापरबाहीका कारण काम अघि बढ्न सकेको छैन।
सम्झौताको अवधिमा काम सम्पन्न नभएपछि पहिलोपटक २०७९ मङ्सिरमा म्याद थप गरेर २०८० साउन १० सम्म समय दिइएको थियो। त्यसपछि पटक–पटक म्याद थप भए पनि कम्पनीले काममा गति दिन सकेको छैन, हुलाकी सडक आयोजना, नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिएका छन् ।
हालसम्म करिब नौ किलोमिटर सडकमा मात्र पहिलो तहको कालोपत्रे कार्य पूरा भएको छ भने बाँकी खण्डमा ग्राभेल मात्र गरिएको छ।
गत वर्ष ठेक्का तोड्ने प्रक्रिया अघि बढाए पनि कानुनी प्रक्रिया अनुसार कम्पनीलाई थप २०० दिनको समय दिइएको थियो। तर त्यो समयावधिको पनि १२२ दिन बितिसकेर अब ७८ दिन मात्र बाँकी रहँदा आधा काम पनि पूरा नभएको आयोजनाले जनाएको छ।
“निर्माण कम्पनीले अहिले कुनै काम गरिरहेको छैन। बाँकी ७८ दिनमा सडक निर्माण सम्पन्न हुने सम्भावना पनि देखिँदैन,” आयोजना प्रमुख भण्डारीले भने।
उनका अनुसार दसैँतिर केही समय काम भएको भए पनि हाल कम्पनी सम्पर्कमै छैन। आयोजनाले कानुनी प्रक्रिया अनुसार कम्पनीलाई अन्तिम अवसर दिइरहेको र तोकिएको समयभित्र पनि काम सम्पन्न नभए ठेक्का रद्द गर्ने वा क्षतिपूर्ति असुल गर्ने निर्णय हुने जनाएको छ।
पूर्वनिर्धारित क्षतिपूर्ति तिरेर कम्पनीले पुनः काम गर्न चाहेमा ६५ करोडको ठेक्काको १० प्रतिशत अर्थात् ६ करोड ५० लाख रुपैयाँ बुझाउनुपर्ने भण्डारीले बताए।
हाल उक्त सडक खण्डको भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३५ प्रतिशत मात्र रहेको आयोजनाले जनाएको छ। निर्माण कम्पनीले हालसम्म गरेको करिब दुई करोड रुपैयाँको भुक्तानी लिन बाँकी छ।
बज्रगुरु काञ्छाराम जेभीका सञ्चालक कान्छाराम तामाङ नेपाली कांग्रेस रामेछापका सभापति तथा पूर्व ऊर्जाराज्यमन्त्री हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस