Techie IT
२०८२ मंसिर १, सोमबार

नेपाल टेलिकमको पहिलो त्रैमासिक आम्दानी र नाफा घट्यो


नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको आय, मुनाफा तथा अन्य प्रमुख वित्तीय सूचकहरू गत वर्षको सोही अवधिको तुलनामा कमजोर देखिएका छन्।

कम्पनीको कुल सञ्चालन आय यस त्रैमासिकमा ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिभन्दा ६ लाख ७१ हजार रुपैयाँ कम हो। त्यस्तै, कुल आय ९ अर्ब ४७ करोड १० लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको पहिलो त्रैमासिकको तुलनामा ५९ करोड २६ लाख रुपैयाँले घटेको हो।

आयमा आएको गिरावटसँगै टेलिकमको नाफा पनि घटेको छ। रिपोर्ट अनुसार, कम्पनीको करअघिको आम्दानी ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँमा सीमित रह्यो, जुन गत वर्षको सोही अवधिभन्दा १२.२९ प्रतिशतले कम हो। करपछि नाफा १८.९ प्रतिशतले घटेर २ अर्ब ८८ करोड रुपैयाँमा झरेको छ। पहिलो त्रैमासिकमा खुद नाफा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ मात्र रह्यो, जुन अघिल्लो वर्षको तुलनामा ४१ करोड ४४ लाख रुपैयाँले कम हो। प्रति शेयर आम्दानी पनि घट्दै २९ रुपैयाँ ४५ पैसा पुगेको छ।

टेलिकमका अनुसार विश्वभर ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय कलमा उल्लेखनीय कमी आएपछि कम्पनीको राजस्व र नाफामा दबाब परेको छ। अन्तरआवद्धता राजस्व मात्र करिब १० करोड ९७ लाख रुपैयाँले घटेको छ। बैंकिङ बजारमा व्याजदर घटेपछि मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याज आम्दानी पनि ५० करोड रुपैयाँले घटेको कम्पनीले जनाएको छ।

त्यसैगरी, कर्मचारीसम्बन्धी लागत पनि बढेको छ। कर्मचारी बीमा खर्च वृद्धि हुनुका साथै, अघिल्लो वर्ष ७.५ प्रतिशत रहेको छुटदर यस वर्ष ७ प्रतिशतमा झर्दा पेन्सन तथा अवकाश सम्बन्धी दायित्व थपिएको टेलिकमले जनाएको छ। यस कारण मात्र कर्मचारी खर्चतर्फ करिब ८ करोड ८० लाख रुपैयाँ अतिरिक्त बढेको छ।

राष्ट्रको सञ्चार सेवा प्रदायकको भूमिकामा रहेको टेलिकमले दुर्गम र विकट क्षेत्रमा सेवा विस्तारलाई निरन्तर प्राथमिकतामा राख्दै आएको छ। कम प्रतिफल र उच्च लागतका बीच पनि सेवा सुधार र पहुँच विस्तारमा लगानी जारी राखिएकाले खर्च वृद्धि भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट