Techie IT
२०८२ मंसिर ८, सोमबार

दुई वर्षदेखि अल्मलिएको इन्जिन मर्मत शुल्क भुक्तानी प्रक्रिया अगाडि बढ्यो


नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा नयाँ नेतृत्व आएसँगै लामो समयदेखि रोकिएको इन्जिन मर्मतको भुक्तानी प्रक्रिया अघि बढेको छ। करिब दुई वर्षअघि इसराइल पठाइएका ‘लुम्बिनी’ न्यारोबडी विमानका दुई इन्जिनमध्ये पहिलो इन्जिनको मर्मतबापतको २८ करोड रुपैयाँ निगमले बुझाइसकेको छ।

यो भुक्तानी डेढ वर्षदेखि रोकिएको थियो। नयाँ महाप्रबन्धक तथा कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले बिहीबार पदभार सम्हालेपछि भुक्तानी प्रक्रिया अघि बढेको निगमका प्रवक्ता अनिल घिमिरेले जानकारी दिए।

प्रवक्ता घिमिरेका अनुसार महाप्रबन्धक श्रेष्ठ र सञ्चालक समितिका अध्यक्ष बिक्रम राईको नेतृत्वमा पहिलो इन्जिन मर्मतबापतको रकम इसराइल एरोस्पेस इन्डस्ट्रिज (आईएआई) लाई बुझाइएको हो।

श्रेष्ठले पदभार सम्हाल्ने दिनमै इसराइलमा रोकिएको आफ्नो इन्जिन वापत छुट्टै जहाजको लिजमा चलिरहेको इन्जिन फिर्ता ल्याउने काम तत्काल टुंग्याउने घोषणा गरेका थिए। त्यसको भोलिपल्ट, शुक्रबार नै, आईएआईलाई भुक्तानी गरिएको निगमले जनाएको छ।

आईएआईले लामो समयदेखि भुक्तानी माग गर्दै आएको थियो। निगमले मर्मतका २८ करोड र भाडामा प्रयोग भइरहेको इन्जिनबापत ४२ करोड गरी कुल ७० करोड रुपैयाँ बुझाउनुपर्ने थियो। तर, यसअघिको नेतृत्वले कुनै पनि भुक्तानी नदिंदा आईएआईले कात्तिक ५ गते सम्झौता रद्द गरेको भन्दै पत्राचार गरिसकेको थियो।

सम्झौता रद्द भएपछि जहाज तुरुन्तै ग्राउन्डेड हुने जोखिम बढेको थियो। यसैले पर्यटन मन्त्रालय सम्हालिरहेकी प्रधानमन्त्री सुशिला कार्कीले इन्जिन छिटो फिर्ता ल्याई जहाज सञ्चालनमा ल्याउन निगमलाई कडाइका साथ निर्देशन दिएकी थिइन्।

निगमको एउटा इन्जिन २०२४ को अप्रिल २८ देखि इसराइलमै रोकिएको छ। निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीको लापरबाहीका कारण मर्मत भइसकेको इन्जिन पनि ल्याउन नसकिएको र भाडाको इन्जिनबाट दैनिक ११ लाख रुपैयाँ खर्च भइरहेको निगम स्रोतहरूको भनाइ छ।

गत कात्तिक ७ गते युवराज अधिकारीको कार्यकाल सकिएपछि नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई निमित्त महाप्रबन्धक तोकिए पनि भुक्तानी गर्ने कानुनी अधिकार नहुँदा प्रक्रिया अघि बढ्न सकेको थिएन। अन्ततः मन्त्रिपरिषद्ले अमृतमान श्रेष्ठलाई महाप्रबन्धक नियुक्त गरेसँगै रोकिएका काम अघि बढ्न थालेका छन्।

एलसी नवीकरण प्रक्रिया पुनःसञ्चालन गरिएको पनि निगमले जनाएको छ। इन्जिन मर्मतका लागि आवश्यक एलसी नवीकरण भइसकेपछि नौ महिना अघिदेखि तयार रहेको दोस्रो इन्जिन आईएआईले नेपाल पठाउने भएको छ।

यससँगै इजरायली कम्पनीका प्रतिनिधिहरू नेपाल आउने तयारीमा छन्। भाडाको इन्जिन फिर्ता गर्ने, मर्मत भइसकेका आफ्नै इन्जिन बुझ्ने तथा बाँकी भुक्तानीसम्बन्धी समायोजनबारे निगम र आईएआईबीच छलफल हुने प्रवक्ता घिमिरेले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट