जुम्ला–कालिकोट सिमानामा ३८ मेगावाटको तिला जलविद्युत् आयोजना निर्माण हुँदै
निर्माण तथा सञ्चालनबाट कुल ३४ घरधुरी प्रत्यक्ष प्रभावित हुने देखिएको छ।
जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा ३८ दशमलव ०७ मेगावाट क्षमताको तिला जलविद्युत् आयोजना निर्माणको तयारी भइरहेको छ। आयोजनाको कुल लागत करिब रु ७ अर्ब ५६ करोड पुग्ने अनुमान गरिएको छ।
तिला गाउँपालिका–१ र ७ र तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रमा पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न भइसकेको छ। तिलामा जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन चार वर्षअघि नै सम्पन्न भइसकेको थियो। प्रस्तावित आयोजना तिला नदीमा निर्माण हुनेछ र यसको डिस्चार्ज ५२ दशमलव ५१ घनमिटर/सेकेन्ड रहनेछ।
उत्पादन हुने विद्युत् १३२ केभी सिङ्गल सर्किटको प्रसारण लाइनमार्फत जुम्ला बजारको सबस्टेशनमा जोडिने छ। विद्युत् गृहबाट निष्कासन हुने पानी २५ मिटर लामो टेलरेस टनेल मार्फत पुनः तिला नदीमा फ्याँकिने व्यवस्था गरिएको छ। आयोजना कुल ७ दशमलव ५८५ हेक्टर जग्गामा फैलिने छ, जसमा वन क्षेत्रको ४ दशमलव ७७२ हेक्टर र निजी जग्गाको २ दशमलव ८१३ हेक्टर समावेश छ।
आयोजनाबाट स्थानीय स्तरमा रोजगारी सिर्जना हुने, व्यापार व्यवसायमा आम्दानी बढ्ने र सामुदायिक विकासका कार्यक्रमहरू सञ्चालन हुने अपेक्षा गरिएको छ। निर्माण अवधिभर स्थानीय जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा व्यवसाय गर्न सक्नेछन्।
निर्माण तथा सञ्चालनबाट कुल ३४ घरधुरी प्रत्यक्ष प्रभावित हुने देखिएको छ। प्रत्यक्ष प्रभावित घरधुरीको विवरण सम्बन्धित वडा कार्यालयमा टाँस गरिएको छ। अध्ययन अवधि पूरा भएपछि मात्र निर्माण कार्य अघि बढ्ने छ।
तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार आयोजना सञ्चालनबाट स्थानीय र राष्ट्रिय स्तरमा लाभ पुग्ने छ।



तपाईको प्रतिक्रिया दिनुहोस