Techie IT
२०८२ पौष ६, आइतबार

अनियमित मौसमका कारण भोजपुरमा धान उत्पादन घट्यो


अनियमित मौसमका कारण यस वर्ष भोजपुरमा धान उत्पादनमा गिरावट आएको छ। समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्‍याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।

केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित भएको थियो भने केही स्थानमा अत्यधिक वर्षाका कारण धानबाली डुबानमा परेर नष्ट भएको छ। “मौसमको अनियमितताले धानखेती गर्ने किसान सबैभन्दा बढी प्रभावित भएका छन्,” उनले बताए।

कृषि ज्ञान केन्द्रका तथ्याङ्कअनुसार गत वर्ष भोजपुरमा ३७ हजार ७ सय ९० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ३६ हजार ९ सय ९८ मेट्रिक टनमा सीमित भएको छ। यस्तै, गत वर्ष १२ हजार १ सय ५४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो भने यस वर्ष ११ हजार ५ सय हेक्टरमा मात्र खेती विस्तार भएको छ।

बेमौसमी वर्षाका कारण करिब ७८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा आंशिक तथा पूर्ण क्षति पुगेको केन्द्रले जनाएको छ। जिल्लाभर कुल रोपाइँ करिब ९६ प्रतिशत मात्र सम्पन्न भएको थियो।

भोजपुरका सबै स्थानीय तहका तल्लो भेग तथा बेँसी क्षेत्रमा धानखेती हुने गरेको छ। केही उपयुक्त बेँसी क्षेत्रमा किसानले वर्षमा दुई बाली धान उत्पादन गर्दै आएका छन्। तर यस वर्ष मौसम प्रतिकूल बनेपछि उत्पादन घटेको किसानहरूले बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट