मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या २५ हजारले वृद्धि
धार्मिक र पर्यटकीय दृष्टिले प्रसिद्ध मुस्ताङमा विदेशी पर्यटकको आगमन बढ्दो छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२५ मा सन् २०२४ को तुलनामा २५ हजार ४ सय ३ जना विदेशी पर्यटक बढी आएका छन्।
एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार सन् २०२५ मा जनवरीदेखि डिसेम्बर ३१ सम्म कुल १ लाख ६१ हजार १ सय २२ जना विदेशी पर्यटक मुस्ताङ आएका थिए। गत वर्ष सन् २०२४ मा यहाँ १ लाख ३५ हजार ७ सय १९ जना विदेशी पर्यटक आगमन भएका थिए।
पर्यटकको स्रोत मुलुक अनुसार सन् २०२५ मा सार्क राष्ट्रबाट १ लाख ३२ हजार ८ सय ४७ र अन्य राष्ट्रबाट २८ हजार २ सय ७५ जना पर्यटक आएका छन्। सन् २०२४ मा भने सार्क राष्ट्रबाट १ लाख ९ हजार ५ सय ४९ र अन्य राष्ट्रबाट २६ हजार १ सय ७० जना विदेशी पर्यटक मुस्ताङ आएका थिए।
एक्याप प्रमुख गुप्ताका अनुसार सन् २०२५ को १२ महिनामा सार्क राष्ट्रबाट २३ हजार २ सय ९८ र अन्य राष्ट्रबाट २ हजार १ सय ५ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको छ। यस हिसाबले सार्क राष्ट्रतर्फ १७.५७ प्रतिशत र अन्य राष्ट्रतर्फ ७.४४ प्रतिशत पर्यटकको वृद्धि देखिएको छ।
हाल हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दो रहे पनि भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको प्रभावका कारण अपेक्षित वृद्धि पूर्ण रूपमा हुन सकेको छैन। सन् २०२५ मा यहाँ करिब ३० प्रतिशत पर्यटक वृद्धिको अनुमान गरिएको थियो, तर सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्यटक सङ्ख्या घट्दा अनुमानअनुसार वृद्धि हुन सकेन। विशेषगरी युवा आन्दोलनका कारण सन् २०२५ को सेप्टेम्बरमा ३ हजार ६ सय ३८, अक्टोबरमा ८ सय ५४ र नोभेम्बरमा ७० विदेशी पर्यटक घटेको तथ्यांक छ।
एक्याप प्रमुख गुप्ताका अनुसार जनवरीदेखि अगस्त र डिसेम्बर अन्त्यसम्म पर्यटकको सङ्ख्या बढेको छ। यहाँ भ्रमण गर्ने पर्यटकमध्ये बढी भारतीय रहेका छन्। सन् २०२५ मा भित्रिएका विदेशी पर्यटकमध्ये ८२ प्रतिशत सार्क राष्ट्र र १८ प्रतिशत अन्य मुलुकका रहेका छन्। यसमा पनि सार्क राष्ट्रका कुल पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी भारतीय रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस