Techie IT
२०८३ कार्तिक १४, शुक्रबार

ट्रम्पको राजनीतिक भविष्यको फैसला गर्दै मध्यावधि निर्वाचन: अग्रिम मतदानमा डेमोक्र्याटको अग्रता


अमेरिकामा मध्यावधि निर्वाचन आउन एक साताभन्दा कम समय बाँकी छँदा अग्रिम मतदान गर्नेको सङ्ख्या चार करोड ३० लाख नाघेको छ।

बीबीसीका अनुसार फ्लोरिडा विश्वविद्यालयको ‘इलेक्सन ल्याब’को तथ्याङ्कले दैनिक ४० देखि ५० लाख अमेरिकी नागरिकले अग्रिम मतदान गरिरहेको देखाएको छ। यो सङ्ख्या विगतका अधिकांश निर्वाचनको तुलनामा निकै उच्च हो।

इलेक्सन ल्याबका निर्देशक प्राध्यापक माइक म्याकडोनाल्डका अनुसार टेक्ससमा औसतभन्दा बढी मतदान भएको छ, जहाँ हिस्पानिक समुदायको सहभागिता उल्लेख्य रूपमा बढेको छ। यसपटकको कुल मतदान सन् २०१८ र २०२० को मध्यावधि निर्वाचनलाई समेत पछि पार्ने अनुमान गरिएको छ। सन् २०१८ को मध्यावधि निर्वाचनमा सन् १९१४ यताकै सर्वाधिक मतदान भएको थियो।

प्राध्यापक म्याकडोनाल्डले टेक्ससमा सन् २०२२ को मध्यावधि निर्वाचनको तुलनामा अहिलेसम्म करिब १७ लाख ५० हजार बढी मत खसिसकेको र कुल ५८ लाखभन्दा बढी मतपत्र सङ्कलन भइसकेको जानकारी दिएका छन्।

यसपटक टेक्ससलाई निकै निर्णायक राज्यका रूपमा हेरिएको छ। त्यहाँको नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी कार्यकालमा अमेरिकी सिनेटमा कुन दलको वर्चस्व रहनेछ भन्ने निर्धारण गर्नेछ।

दलगत आबद्धता खुलाउनुपर्ने राज्यहरूको तथ्याङ्क अनुसार डेमोक्रेटिक पार्टीका मतदाता अग्रिम मतदानमा अगाडि देखिएका छन् भने रिपब्लिकन मतदाताको सहभागिता सन् २०२२ कै हाराहारीमा छ। त्यसैगरी, कुनै पनि दलमा आबद्ध नरहेका स्वतन्त्र मतदाताहरूको सहभागितामा पनि वृद्धि भएको छ। यद्यपि, अग्रिम मतदानको यो तथ्याङ्कले उम्मेदवार विशेषको जित-हार भने स्पष्ट पार्दैन।

बिहीबार सार्वजनिक विवरण अनुसार खसेको कुल अग्रिम मतमध्ये ४४ प्रतिशत डेमोक्रेटिक पार्टीका समर्थकको छ। यस्तै, रिपब्लिकन समर्थकले ३१.२ प्रतिशत र स्वतन्त्र मतदाताले २४.७ प्रतिशत मतदान गरेका छन्। यो तथ्याङ्क दलगत आबद्धता खुलाउनुपर्ने व्यवस्था भएका करिब आधा राज्यहरूको मात्र हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट