कर्जा असुलीले बैंकको नाफा उचाल्यो: मंसिरसम्म ३४% वृद्धि
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा उल्लेख्य सुधार देखिएको छ। कर्जा असुलीमा सुधार आएसँगै कर्जा नोक्सानी व्यवस्थाबाट फिर्ता हुने रकममा पनि उल्लेखनीय वृद्धि भएको हो।
चालु आर्थिक वर्षको मंसिर महिनामा बैंक तथा वित्तीय संस्थाको खुद नाफा ३४ प्रतिशतले बढेको छ। बैंकहरूको नाफा बढ्नुको मुख्य कारण कर्जा नोक्सानी व्यवस्थाबाट ठूलो रकम फिर्ता हुनु तथा कर्जा अपलेखन बढ्नु रहेको देखिएको छ।
केन्द्रीय बैंकका अनुसार चालु आवको मंसिरमा मात्रै बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानी व्यवस्थाबाट १७ अर्ब १० करोड रुपैयाँ फिर्ता गरेका छन्। उक्त रकम सिधै नाफामा गणना हुने व्यवस्था छ, किनकि यसअघि बैंकहरूले यही शीर्षकमा नाफाबाट रकम छुट्याएका थिए।
यस अवधिमा गैर–बैंकिङ सम्पत्तिमा कर्जा नोक्सानी न्यून रहनु, विदेशी मुद्राको कारोबार तथा विनिमय दरको उतारचढावबाट भएको आम्दानीले पनि बैंकहरूको नाफामा थप सहयोग पुगेको छ। मंसिरसम्म विदेशी विनिमय कारोबारबाट हुने आम्दानी कात्तिकको तुलनामा २८.९१ प्रतिशतले बढेको छ।
त्यसैगरी कर्जा नोक्सानी ३.८ प्रतिशतले मात्रै बढेको छ, जुन कर्जा डिफल्ट दर न्यून रहेको संकेत हो। सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा अपलेखन बढेर २१ करोड रुपैयाँ पुगेको छ।
चालु आवको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको ब्याज आम्दानी २३.२५ प्रतिशतले बढेको भए पनि ब्याज खर्च २२.६३ प्रतिशतले बढेको छ। निक्षेपकर्तालाई दिने ब्याजदर क्रमशः घट्दै गएकाले ब्याज खर्चमा नियन्त्रण भई नाफामा सुधार आएको बैंकरहरूको भनाइ छ।
एक बैंकरका अनुसार पछिल्लो समय नयाँ कर्जा लगानी खासै नबढे पनि पुरानो कर्जाको असुलीमा सुधार भएकाले नोक्सानी फिर्ता हुँदै नाफा बढेको हो। ‘नयाँ कर्जा लगानी भएको छैन, कर्जा अपलेखन बढिरहेको छ। तर, पुरानो कर्जा उठ्दै जाँदा नोक्सानी फिर्ता पनि सोही अनुपातमा भएकाले नाफामा सुधार आएको हो,’ ती बैंकरले भने।
चालु आर्थिक वर्षको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाले कुल २८ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। यो कात्तिकसम्मको तुलनामा ३३.७६ प्रतिशतले बढी हो। कात्तिकसम्म खुद नाफा २१ अर्ब ३१ करोड रुपैयाँ थियो।
तर, गत आर्थिक वर्षको मंसिरसम्म बैंक तथा वित्तीय संस्थाको खुद नाफा ३३ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो। सोही अवधिमा कर्जा नोक्सानी फिर्ता रकम १८ अर्ब २५ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ।
चालु आवको मंसिरसम्म वाणिज्य बैंकहरूले मात्रै २५ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। विकास बैंकहरूको खुद नाफा २ अर्ब ५७ करोड रुपैयाँ र फाइनान्स कम्पनीहरूको २२ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस