धान उत्पादन र उत्पादकत्व दुवै घट्यो, खाद्य सुरक्षा र अर्थतन्त्रमा चुनौती
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ का लागि धान बाली उत्पादनसम्बन्धी प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार यस वर्ष धानको कुल उत्पादन र प्रतिहेक्टर उत्पादकत्व दुवैमा गिरावट आएको छ, जसले देशको खाद्य सुरक्षा र समग्र अर्थतन्त्रमा थप चुनौती सिर्जना गर्ने देखिएको छ।
नेपालको खाद्य सुरक्षाका दृष्टिले धान सबैभन्दा महत्त्वपूर्ण बाली मानिन्छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान करिब २४.१६ प्रतिशत रहने अनुमान छ। कृषि क्षेत्रको कुल उत्पादनमा मात्र धानको योगदान करिब १२ प्रतिशत छ। त्यसैले धान उत्पादनसम्बन्धी तथ्याङ्कलाई योजनाविद् र सरोकारवालाहरूले अत्यन्तै चासोका साथ हेर्ने गर्छन्।
चालु आर्थिक वर्ष २०८२/०८३ मा ५५ लाख ५१ हजार १२६ मेट्रिक टन धान उत्पादन हुने प्रारम्भिक अनुमान गरिएको छ। यो उत्पादन गत आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ४.२० प्रतिशतले कम हो। गत वर्ष ५९ लाख ५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो।
धानको उत्पादकत्वमा पनि १.१६ प्रतिशतको गिरावट आएको छ। यस वर्ष प्रतिहेक्टर ३.९१ मेट्रिक टन उत्पादकत्व कायम भएको छ, जबकि गत वर्ष प्रतिहेक्टर ४.१४ मेट्रिक टन रहेको थियो।
यस वर्ष धान खेती गरिएको कुल क्षेत्रफलसमेत घटेको मन्त्रालयको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ। चालु आर्थिक वर्षमा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान लगाइएको छ, जुन गत वर्षको तुलनामा ३.८ प्रतिशतले कम हो। खेतीयोग्य जमिन अन्य प्रयोजनमा प्रयोग हुनु र बाँझो रहने क्रम बढ्दै जानुले धान खेतीको क्षेत्रफल खुम्चिँदै गएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
किन घट्यो धान उत्पादन ?
धान उत्पादन घट्नुका पछाडि सामाजिक, आर्थिक तथा जनसाङ्ख्यिक कारणहरू प्रमुख देखिएका छन्। विशेषगरी पहाडी क्षेत्रमा बढ्दो बसाइँसराइ र युवा जनशक्ति वैदेशिक रोजगारीतर्फ आकर्षित हुँदा खेतीयोग्य जमिन बाँझो रहने समस्या बढ्दै गएको छ। साथै किसानहरू धानभन्दा फलफूल तथा अन्य नगदे बालीतर्फ आकर्षित हुनुले पनि धान खेतीको क्षेत्रफल घटेको छ।
तराई तथा सहरी क्षेत्रमा बढ्दो सहरीकरण, औद्योगिक विस्तार र भौतिक पूर्वाधार निर्माणका कारण उर्वर कृषि भूमि नासिँदै गएको छ। यस वर्ष मधेस प्रदेशमा धान रोपाइँको मुख्य समयमा पर्याप्त वर्षा नहुँदा खडेरीको असर परेको थियो, जसले रोपाइँ र उत्पादनमा प्रतिकूल प्रभाव पारेको मन्त्रालयले जनाएको छ।
उन्नत बीउ र मलको उपलब्धता हुँदाहुँदै पनि मौसमको प्रतिकूलताका कारण अपेक्षित उत्पादन हासिल हुन नसकेको मन्त्रालयको भनाइ छ।
यस वर्षको धान उत्पादनसम्बन्धी अनुमान तयार पार्न मन्त्रालयले आधुनिक र वैज्ञानिक विधिको प्रयोग गरेको जनाएको छ। सातवटै प्रदेशका कृषि निकाय, किसानहरूसँगको अन्तरक्रिया तथा काटानी–मदानीबाट प्राप्त तथ्याङ्कलाई आधार बनाइएको छ। साथै इसिमोडसँगको सहकार्यमा रिमोट सेन्सिङ प्रविधिबाट प्राप्त तथ्याङ्कलाई ‘ट्रयांगुलेसन’ र ‘भ्यालिडेसन’ गरी अन्तिम नतिजा निकालिएको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. जानुकी पण्डितले जानकारी दिइन्।



तपाईको प्रतिक्रिया दिनुहोस