Techie IT
२०८२ माघ १२, सोमबार

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि भर्न सकिने


भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज (माघ १२ गते) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम लगानीकर्ताका लागि आईपीओ ल्याएको हो।

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये १० लाख कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पहिले नै निष्काशन गरिएको छ।

अब कम्पनीले कर्मचारीका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता सुरक्षित राख्दै बाँकी ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गते बन्द हुने कम्पनीले जनाएको छ।

आईपीओका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ सिंगल बी प्लस’ दिएको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८० करोड ५८ लाख ४९ हजार ६०० रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २४ करोड ९० लाख ८२ हजार ७०३ रुपैयाँ रहेको आयोजनाको विद्युत अनुमतिपत्र अवधि अझै ३० वर्ष बाँकी रहेको छ।

उक्त आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.६५ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६.०९ वर्ष रहेको छ। आयोजनाबाट कम्पनीले २०८१ वैशाख ६ गतेदेखि व्यावसायिक विद्युत उत्पादन गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट