Techie IT
२०८२ चैत्र ५, बिहीबार

सूर्यकुण्ड हाइड्रोको आईपीओ आजदेखि खुला


सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आज (माघ १८ गते) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणतर्फ आईपीओ खुला गरेको हो ।

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत बराबर अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँको १३ लाख ७९ हजार ३५० कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ६ लाख ८९ हजार ६७५ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र ६८ हजार ९६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

अब कम्पनीले कर्मचारीका लागि १३ हजार ७९३ कित्ता र सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको पाँच करोड ७२ लाख ४३ हजार १०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका पाँच लाख ७२ हजार ४३१ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्कासन छिटोमा माघ २१ गते बन्द हुनेछ भने ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन पाइनेछ ।

आईपीओ निष्कासनका लागि गराइएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस (Issuer Rating)’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले सञ्चालन गरेको ११ मेगावाट क्षमताको माथिल्लो तादी खोला जलविद्युत् आयोजनाको कुल लागत दुई अर्ब ३६ करोड ८४ लाख ४० हजार रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रुपैयाँ २७ पैसामा पर्छ । आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) अझै २६ वर्ष बाँकी छ । यस आयोजनामा साधारण लगानी फिर्ता हुने अवधि ७.७१ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६ वर्ष तोकिएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन् । साथै, सिडिएस एन्ड क्लियरिङ लिमिटेडद्वारा विकास गरिएको ‘मेरो सेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइनबाट पनि सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट