Techie IT
२०८२ चैत्र १, आइतबार

बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुला, ककस्ले भर्न मिल्छ?


बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज (चैत १ गते) देखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री सुरु गरेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। यसमध्ये १० करोड ४० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका १० लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

उक्त शेयरमध्ये ५ लाख २० हजार कित्ता शेयर आयोजनाको अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दालाई वितरण गरिनेछ। त्यस्तै ३ लाख १२ हजार कित्ता शेयर सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ र ११ का बासिन्दालाई तथा २ लाख ८ हजार कित्ता शेयर सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रका स्थायी बासिन्दालाई बाँडफाँट गरिने कम्पनीले जनाएको छ।

यसका साथै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात १ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ४ हजार कित्ता शेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिनेछ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन छिटोमा चैत १५ गते र ढिलोमा चैत ३० गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आवेदन छिटोमा चैत ५ गते र ढिलोमा चैत १५ गतेसम्म खुला रहनेछ।

आईपीओ निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

कम्पनीले निर्माण गरिरहेको १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब १९ करोड ४७ लाख रुपैयाँ रहेको उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २४ वर्ष बाँकी रहेको छ। आयोजनामा गरिएको लगानी साधारण रूपमा ५.७८ वर्षमा फिर्ता हुने अनुमान गरिएको छ भने छुटदर (डिस्काउन्ट) मा लगानी फिर्ता हुने अवधि ८.१५ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सक्नेछन्। साथै एनएमबि बैंक सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंक सल्लेरी शाखा, ग्लोबल आइएमई बैंक सोलुखुम्बु शाखा तथा प्राइम कमर्सियल बैंक नेचा सल्यान शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदन फाराम लिन स्थानीय बासिन्दाले २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट