चिनियाँ कम्पनीले पायो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी
मुलुककै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी चिनियाँ र नेपाली कम्पनीको संयुक्त उपक्रम (जेभी) ले पाउने निश्चित भएको छ। आर्थिक मूल्याङ्कनमा सबैभन्दा कम रकम कबोल गर्ने चिनियाँ सरकारी कम्पनी चोङक्विङ युसिन रोड एण्ड ब्रिज डेभलपमेन्ट र नेपाली कम्पनी एआरटी कन्स्ट्रक्सन (युसिन–एआरटी जेभी) जेभी छनोट भएको हो।
सुरुङ सञ्चालनका लागि आह्वान गरिएको टेन्डरमा सहभागी १० कम्पनीमध्ये ७ वटा प्राविधिक रूपमा योग्य ठहरिएका थिए। तीमध्ये लागत अनुमानभन्दा करिब ४० प्रतिशत कम रकम प्रस्ताव गर्दै युसिन–एआरटी जेभीले आगामी ५ वर्षका लागि ठेक्का पाउने भएको छ। यस जेभीले करिब १ अर्ब १० करोड रुपैयाँमा सञ्चालन, व्यवस्थापन र मर्मतसम्भार गर्ने प्रस्ताव पेश गरेको छ।
आयोजना प्रमुख सौजन्य नेपालका अनुसार ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आर्थिक प्रस्ताव खोलिसकिएको र सबैभन्दा कम कबोल गर्ने कम्पनीका रूपमा युसिन–एआरटी देखिएकाले अब सडक विभागका महानिर्देशकबाट स्वीकृति लिएर छिट्टै आशयको सूचना जारी गरिने तयारी छ।
आयोजनाले चैत मसान्तभित्र सम्पूर्ण कागजी प्रक्रिया र सम्झौता टुङ्ग्याउने लक्ष्य राखेको छ। वैशाखभित्र कर्मचारी छनोट, तालिम र सवारी परीक्षण सुरु गरिनेछ भने सबै प्रक्रिया पूरा भए आगामी जेठ अन्तिम साताबाट सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिने तयारी छ।
प्रतिस्पर्धामा रहेका अन्य कम्पनीहरूले लागत अनुमानभन्दा करिब ३० प्रतिशतसम्म कम प्रस्ताव गरेका थिए। तर ४० प्रतिशतसम्म कम दरमा कबोल गरेपछि युसिन–एआरटी जेभीको प्रस्तावले सरोकारवालामा संशय पैदा गरेको छ।
नेपालको सार्वजनिक खरिद प्रणालीमा ‘लो बिडिङ’ पछि कामको गुणस्तर खस्किने प्रवृत्ति देखिँदै आएको भन्दै सुरुङ सञ्चालनमा चुनौती आउन सक्ने चिन्ता व्यक्त गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस