नयाँ सरकारलाई सेयर बजारको रातो झन्डा
नयाँ सरकार गठनपछि पुँजी बजार थप अस्थिर देखिएको छ। चैत १३ मा वालेन्द्र शाह (बालेन) देशको ४३औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएसँगै बजारमा विश्वास कमजोर देखिँदा नेप्से परिसूचक एक सातामै उल्लेख्य रूपमा घटेको हो।
सोही दिन मन्त्रिपरिषद् विस्तार भई डा. स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त भए पनि लगानीकर्तामा अपेक्षित भरोसा देखिन सकेन। दुईतिहाइनजिकको ‘स्थिर’ सरकार बने पनि बजारले सकारात्मक प्रतिक्रिया नदेखाउँदा नेप्से सातामै १६७.९८ अंकले घटेको छ।
अर्थमन्त्री वाग्लेले शपथ लिएको दिन शुक्रबार बजार बन्द थियो। त्यसअघिको दिन चैत १२ मा २९५०.१६ अंकमा रहेको नेप्से साताको अन्तिम कारोबार दिन चैत १९ मा घटेर २७८२.१८ अंकमा बन्द भएको छ।
यस अवधिमा आइतबार नेप्से ७१.०५ अंकले घटेर २८७९.११ मा झर्यो भने सोमबार थप ४७.७१ अंकले घट्दै २८३१.३९ मा पुग्यो। मंगलबार भने १९.७० अंकले बढेर २८५१.०९ कायम भए पनि बुधबार पुनः ७४.७३ अंकले घटेर २७७६.३६ मा झर्यो। बिहीबार सामान्य सुधार देखिँदै ५.८२ अंकले बढेर २७८२.१८ मा बन्द भयो।
बजारमा आएको गिरावटसँगै लगानीकर्ताले एक सातामै करिब तीन खर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन्। गत शुक्रबार ५० खर्बभन्दा बढी रहेको बजार पुँजीकरण घटेर चैत १९ मा ४७ खर्ब ३० अर्ब रुपैयाँमा सीमित भएको छ, जुन करिब २ खर्ब ७९ अर्ब रुपैयाँले कम हो।
दैनिक आधारमा हेर्दा आइतबार बजार पुँजीकरण ४८ खर्ब ९४ अर्ब रहेकोमा सोमबार ४८ खर्ब १३ अर्बमा झर्यो। मंगलबार केही सुधार भई ४८ खर्ब ४७ अर्ब पुगे पनि बुधबार घटेर ४७ खर्ब २० अर्बमा आइपुग्यो। बिहीबार सामान्य सुधार हुँदै ४७ खर्ब ३० अर्ब कायम भएको नेप्सेको तथ्यांकले देखाएको छ।
नयाँ सरकारप्रति लगानीकर्ताको विश्वास अझै मजबुत बन्न नसक्दा बजारमा उतारचढाव जारी रहेको विश्लेषकहरू बताउँछन्।



तपाईको प्रतिक्रिया दिनुहोस