हर्मुजमा इरानको कडाइले विश्व ऊर्जा आपूर्ति ९६% सम्म घट्यो
तेहरानले महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’मा आवतजावत कडाइ गरेपछि अन्तर्राष्ट्रिय ढुवानीमा ठूलो गिरावट आएको छ।
बजार विश्लेषण गर्ने फर्म केप्लरको तथ्याङ्क अनुसार मार्च महिनामा उक्त जलमार्ग हुँदै हुने निर्यात–आयात अत्यधिक घटेको देखिएको छ।
इरान कच्चा तेल, पेट्रोलियम पदार्थ, तरल प्राकृतिक ग्याँस (एलएनजी) तथा मलसहित सुख्खा थोक वस्तुहरूको विश्वको पाँचौँ ठूलो निर्यातकर्ता हो। तर हर्मुजमार्फत हुने साउदी अरब, संयुक्त अरब इमिरेट्स, इराक र कतारको निर्यात अघिल्लो १२ महिनाको औसतको तुलनामा मार्चमा कम्तीमा ९६ प्रतिशतले घटेको छ। इरानकै ढुवानीमा समेत २६ प्रतिशत गिरावट आएको छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि तेहरानले हर्मुज घाँटीमा कडाइ गर्दै आवतजावत सीमित गरेको हो। त्यसयता इरानले अत्यन्त न्यून संख्यामा मात्र विदेशी जहाजलाई मार्ग प्रयोग गर्न अनुमति दिएको छ।
सामान्यतया विश्वको करिब २० प्रतिशत कच्चा तेल र एलएनजी यही मार्ग हुँदै ओसारपसार हुन्छ। तर हालको तनाव र अवरोधका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर परेको छ, विशेषगरी एसियाली देशहरूमा यसको प्रभाव स्पष्ट देखिन थालेको छ।
अमेरिकाले इरानी बन्दरगाहमाथि लगाएको नाकाबन्दीले पनि यो संकट थप गहिरो बनाएको छ। परिणामस्वरूप बहराइन र कुवेतले मार्च महिनामा हर्मुजमार्फत कुनै पनि सामान ढुवानी नगरेका छन्।
कतारजस्तो प्रमुख एलएनजी आपूर्तिकर्ताले समेत मार्चमा हर्मुजमार्फत केवल ४५ हजार टन ‘ब्यूटेन’ र ‘प्रोपेन’ मात्र निर्यात गरेको छ, एलएनजी निर्यात भने शून्य रहेको छ।
तथ्याङ्कअनुसार गत महिना हर्मुजमार्फत पार भएको कच्चा तेलमा इरानको हिस्सा ८१ प्रतिशत पुगेको छ, जुन मार्च २०२५ देखि फेब्रुअरी २०२६ सम्मको औसत ६२ प्रतिशतभन्दा उल्लेखनीय रूपमा बढी हो।



तपाईको प्रतिक्रिया दिनुहोस