मेचीका ६ मध्ये ५ छोटी भन्सार ठप्प, व्यापार अभावले सीमावर्ती नाका सुनसान
मेची भन्सार कार्यालयअन्तर्गत रहेका छ वटा छोटी भन्सारमध्ये हाल एउटा मात्रै सञ्चालनमा रहेको पाइएको छ। राजस्व असुली र सीमापार व्यापार सहजीकरणका लागि स्थापना गरिएका पाँचवटा छोटी भन्सार भने लामो समयदेखि बन्द अवस्थामा छन्।
मेची भन्सार कार्यालयअन्तर्गत गौरीगन्ज–२ स्थित आठमौजा, मेचीनगर–२ को गाडागल्ली, मेचीनगर–४ को बाहुनडाँगी, मेचीनगर–५ को नकलबन्दा, मेचीनगर–७ को सतिघट्टा र गौरीगन्ज–१ को महाभारा छोटी भन्सार स्थापना गरिएका थिए। तीमध्ये हाल आठमौजा बाहेक अन्य सबै बन्द रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए।
उनका अनुसार आठमौजा छोटी भन्सार सञ्चालनमा भए पनि अपेक्षित रूपमा भन्सार कारोबार हुन सकेको छैन। “अन्य नाकाबाट व्यापारिक गतिविधि न्यून भएकाले छोटी भन्सार सञ्चालन हुन सकेका छैनन्,” उनले भने।
विशेषज्ञहरूका अनुसार आयात–निर्यात कारोबारका लागि भन्सार कार्यालय मात्र पर्याप्त हुँदैन। क्वारेन्टाइन, अध्यागमन र अन्य आवश्यक सेवाहरूको अभावले पनि छोटी भन्सार सञ्चालनमा कठिनाइ भइरहेको छ। काँकरभिट्टास्थित मुख्य मेची भन्सारमा भने सुक्खा बन्दरगाह, अध्यागमन, क्वारेन्टाइन तथा आधुनिक जाँच प्रणाली उपलब्ध छन्।
मेचीनगर–४ स्थित बाहुनडाँगी छोटी भन्सार विगत आठ वर्षदेखि बन्द रहेको स्थानीय वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताए। “यसलाई सञ्चालनमा ल्याउन आवश्यक सहयोग गर्न हामी तयार छौँ,” उनले भने, “विसं १९९० देखि सञ्चालनमा रहेको बाहुनडाँगी ऐतिहासिक सीमाबजार हो, यसको बन्दीले स्थानीयलाई निराश बनाएको छ।”
इतिहासमा राणाकाल र पञ्चायतकालमा समेत महत्त्वपूर्ण नाका रहेको बाहुनडाँगीबाट इलाम र झापाका बासिन्दा भारतको नक्सलबारी हुँदै कोलकातासम्म आवतजावत गर्ने गरेका थिए। हाल पनि यहाँ आफ्नै जग्गामा पुरानो भवन रहेको र त्यसको संरक्षण वडा कार्यालयले गरिरहेको छ।
सञ्चालनमा रहेको आठमौजा छोटी भन्सार काँकरभिट्टाबाट करिब ७५ किलोमिटर टाढा पर्छ, जसको भारतीय सीमा क्षेत्रमा फत्तेपुर बजार रहेको छ। अन्य नाकामा भने सीमापार ठूलो बजारको अभाव, जीर्ण भवन र न्यून व्यापारका कारण गतिविधि ठप्प छन्। ती क्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था भने निरन्तर कायम राखेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस