मुस्ताङमा स्याउको एकै वर्षामा १ अर्ब १५ करोडको व्यापार
हिमाली जिल्ला मुस्ताङमा यस वर्ष रु १ अर्ब १४ करोड ९६ लाख बराबरको स्याउ उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्र (कृषि तथा पशु विकास कार्यालय) का अनुसार जिल्लाका पाँचवटा स्थानीय तहमा गरी कुल ६६२ हेक्टर क्षेत्रफलबाट उक्त मूल्य बराबरको स्याउ उत्पादन भएको हो।
कार्यालय प्रमुख डा. लालमणि अर्यालका अनुसार यस वर्ष मुस्ताङमा हाइब्रिड (उच्च घनत्व प्रविधिमा आधारित) र परम्परागत स्थानीय जात गरी कुल ७ हजार ३८ दशमलव ५४ मेट्रिक टन स्याउ फलेको छ। जसमध्ये हाइब्रिड स्याउ रु २३ करोड ६ लाख (९५९.६२ मेट्रिक टन) र स्थानीय परम्परागत स्याउ रु ९१ करोड ९० लाख ९१ हजार (६ हजार ७८.९२ मेट्रिक टन) बराबरको रहेको छ।
स्याउको यो उत्पादन परिमाण कृषि प्राविधिकहरूले बगैँचामै पुगेर अपनाएको ‘क्रप कटिङ’ विधि, स्थानीय तहका प्राविधिक तथा किसानहरूसँगको समन्वयका आधारमा मापन गरिएको डा. अर्यालले जानकारी दिए। उत्पादित स्याउमध्ये रु ९४ करोड ८० लाख ९२ हजार बराबरको स्याउ देशका विभिन्न शहरमा निकासी हुने अनुमान छ भने रु १७ करोड ५६ लाखभन्दा बढीको स्याउ जिल्लाभित्रै खपत भएको छ। बजार मूल्यका हिसाबले हाइब्रिड स्याउको प्रतिकेजी रु २४० र स्थानीय परम्परागत स्याउको प्रतिकेजी रु १५१ औसत मूल्य निर्धारण गरिएको छ।
मुस्ताङमा गत वर्षको तुलनामा यस वर्ष ३५४ दशमलव २४ मेट्रिक टन अर्थात् ५ दशमलव २९ प्रतिशतले स्याउ उत्पादन बढेको छ। गत वर्ष जिल्लामा ६ हजार ६८४ दशमलव ३० मेट्रिक टन स्याउ उत्पादन भएको थियो।हाल मुस्ताङको कुल ९१७ हेक्टर क्षेत्रफलमा स्याउ बगैँचा विस्तार भइसकेको छ। जसमध्ये ८४१ हेक्टरमा स्थानीय परम्परागत र ७६ हेक्टरमा हाइब्रिड स्याउको खेती भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस