शेयर बजारमा फर्कियो रौनक, नेप्से ३३ अंकले बढ्दा साढे ७ अर्ब नाघ्यो कारोबार
दसैँपछि सुस्त रहेको नेपाली सेयर बजारमा पुनः रौनक फर्किएको छ । बुधबार कारोबार सुरु भएदेखि नै खरिदकर्ताहरू झुम्मिएपछि नेप्से परिसूचक ३३.२९ अङ्कले बढेर २६६४.०६ विन्दुमा पुगेर बन्द भएको छ । अघिल्लो कारोबार दिन (मंगलबार) करिब स्थिर रहेको बजारले आज अन्तिम समयसम्म ३३ अङ्कभन्दा बढीको उचाइ लिन सफल भएको छ ।
मुख्य परिसूचसँगै आज दिन कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ३४८ वटा कम्पनीका ६३ हजार ७४४ पटकको कारोबारबाट ७ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ बराबरको १ करोड ९३ लाख कित्ता सेयर किनबेच भएको छ। यस दिन कारोबारमा आएका ३४८ कम्पनीमध्ये २४१ वटाको सेयरमूल्य बढेको छ भने ३५ वटाको घटेको र ३ वटाको स्थिर रहेको छ।
बुधबार अधिकांश उपसमूहहरू हरियाली बनेका छन्। कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार बाहेकका अन्य १२ वटै उपसमूहको परिसूचक बढेको छ। जसमा जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशतले बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी र जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। व्यापार उपसमूह भने सामान्य अङ्कले घटेको छ।
कम्पनीहरूको कारोबार र मूल्यको स्थिति
सर्वाधिक कमाउने: बेनी हाइड्रोपावरको सेयरमूल्यमा यस दिन पनि सकारात्मक सर्किट (लगभग १५ प्रतिशत वृद्धि) लागेको छ। कम्पनीको मूल्य ७० रुपैयाँले बढेर ५३६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, बुटवल पावर कम्पनीको मूल्य साढे १० प्रतिशतभन्दा बढीले बढेको छ भने सुपर खुदी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ।
सर्वाधिक गुमाउने: मूल्य घटेका स्टकहरूको गिरावट दर ३ प्रतिशतभन्दा कम रहेको छ, जसमा प्राइम बैंकको डिबेन्चरको मूल्य २.९६ प्रतिशतले घटेको छ।
कारोबार रकम: लिबर्टी इनर्जी कम्पनीको ३२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच हुँदै कारोबार रकमका आधारमा यो कम्पनी शीर्ष स्थानमा रहेको छ। त्यस्तै, घलेम्दी हाइड्रोको २८ करोड र बुटवल पावर कम्पनीको करिब साढे २६ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
बुधबार देखिएको यो तीव्र वृद्धि र उच्च कारोबारले दसैँपछि सुस्ताएका लगानीकर्ताहरू बजारमा पुनः चलायमान हुन थालेको सङ्केत गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस