सेयर र घरजग्गा कारोबार महँगियो, पुँजीगत लाभकर र रजिस्ट्रेसन दस्तुर दुवै बढ्यो
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सेयर तथा घरजग्गा कारोबारमा लाग्ने कर र दस्तुरको दर बढाएको छ। पुँजी बजारका लगानीकर्ता तथा घरजग्गा खरिद–बिक्री गर्नेहरू अब थप आर्थिक भार व्यहोर्नुपर्ने भएको छ।
सरकारले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम कर (फाइनल ट्याक्स) का रूपमा कायम राखे पनि करको दर भने वृद्धि गरेको छ।
नयाँ व्यवस्थाअनुसार एक वर्षभन्दा कम अवधि होल्ड गरेर बिक्री गरिएको सेयरबाट प्राप्त नाफामा १० प्रतिशत पुँजीगत लाभकर लाग्नेछ। यस्तै, एक वर्ष वा सोभन्दा बढी अवधि राखेर बिक्री गरिएको सेयरबाट प्राप्त लाभमा ७.५ प्रतिशत कर तिर्नुपर्नेछ।
यसअघि एक वर्षभन्दा कम अवधिको सेयर बिक्रीबाट भएको लाभमा ७.५ प्रतिशत र एक वर्षभन्दा बढी अवधिपछि बिक्री गर्दा ५ प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको थियो।
त्यसैगरी, सरकारले घरजग्गा कारोबारमा लाग्ने रजिस्ट्रेसन दस्तुर पनि बढाएको छ। हालसम्म ५ प्रतिशत रहेको रजिस्ट्रेसन शुल्क अब ७.५ प्रतिशत पुर्याइएको छ।
सरकारको यो निर्णयले सेयर बजार र घरजग्गा क्षेत्रमा लगानी लागत बढाउने विश्लेषण गरिएको छ। विशेषगरी छोटो अवधिका सेयर लगानीकर्ता तथा घरजग्गा खरिद–बिक्री गर्नेहरू प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ।
अर्थविद्हरूले कर वृद्धिले सरकारी राजस्व बढाउन सहयोग पुग्न सक्ने भए पनि लगानीकर्ताको मनोबल र बजारको गतिविधिमा यसको प्रभाव पर्न सक्ने बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस