आजदेखि एभरेस्ट कलरको आईपीओ खुला
एभरेस्ट कलर लिमिटेडले आज (शुक्रबार) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट सम्पन्न गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको हो।
कम्पनीले जारी पुँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँ मूल्यको ७ लाख ९० हजार कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये ७९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर बिक्री तथा बाँडफाँट गरिसकिएको छ।
यस्तै, ३९ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि तथा १५ हजार ८०० कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याएर बाँडफाँट गरिएको छ। अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६ लाख ५५ हजार ७०० कित्ता सेयर, कुल ६ करोड ५५ लाख ७० हजार रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा जेठ २७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि असार ५ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युअर रेटिङ’ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हालेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा ‘मेरो सेयर’ मार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस