२ अर्ब ७८ करोडको आईपीओ आउँदै
नेपाल धितोपत्र बोर्ड (सेबोन) को आईपीओ पाइपलाइनमा विभिन्न क्षेत्रका ६ नयाँ कम्पनी थपिएका छन्। पूँजी बजारबाट रकम संकलन गर्ने उद्देश्यले यी कम्पनीहरूले आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन्।
नयाँ थपिएका कम्पनीमध्ये जलविद्युत क्षेत्रबाट सुपर हेवा पावर कम्पनी लिमिटेड र रघुगंगा हाइड्रोपावर लिमिटेड, तथा उत्पादन तथा प्रशोधन क्षेत्रबाट राजेश मेटल क्राफ्ट्स लिमिटेड, अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड, युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेड र प्रिमियर डिस्टिलरी लिमिटेड रहेका छन्। यी कम्पनीहरूले कुल २ अर्ब ७८ करोड ३४ लाख ५३ हजार १०० रुपैयाँ बराबरका २ करोड ७८ लाख ३४ हजार ५३१ कित्ता शेयर निष्कासनको प्रक्रिया अगाडि बढाएका हुन्।
२०८३ साल जेठ ७ गते एकैदिन तीनवटा कम्पनीले बोर्डमा आवेदन दिए। राजेश मेटल क्राफ्ट्स लिमिटेडले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडमार्फत ६० लाख कित्ता (६० करोड रुपैयाँ बराबर), अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत १० लाख ९ हजार ५३१ कित्ता (१० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ बराबर) र युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेडले प्रभु क्यापिटल लिमिटेडमार्फत १६ लाख ५० हजार कित्ता (१६ करोड ५० लाख रुपैयाँ बराबर) शेयर निष्कासनका लागि आवेदन दर्ता गराएका हुन्।
जेठ ८ गते प्रिमियर डिस्टिलरी लिमिटेडले सिद्धार्थ क्यापिटल लिमिटेडमार्फत २२ लाख ५० हजार कित्ता (२२ करोड ५० लाख रुपैयाँ बराबर) आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दियो। सोही दिन जलविद्युत क्षेत्रका सुपर हेवा पावर कम्पनी लिमिटेडले लक्ष्मी सनराइज क्यापिटलमार्फत १९ लाख २५ हजार कित्ता (१९ करोड २५ लाख रुपैयाँ बराबर) तथा रघुगंगा हाइड्रोपावर लिमिटेडले एनआईसी एसिया क्यापिटलमार्फत १ करोड ५० लाख कित्ता (१ अर्ब ५० करोड रुपैयाँ बराबर) शेयर निष्कासनका लागि आवेदन दिए।
हाल यी सबै ६ कम्पनी सेबोनको 'अनुपालन प्रतिवेदन सहितको आवेदन' को प्रारम्भिक समीक्षा चरणमा छन्। बोर्डबाट अन्तिम स्वीकृति प्राप्त भएपछि मात्र कम्पनीहरूले सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्न पाउनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस