Techie IT
२०८३ असार ६, शनिबार

जियोको ४ अर्ब डलरको ऐतिहासिक आईपीओ आउँदै


भारतीय अर्बपति मुकेश अम्बानीको नेतृत्वमा रहेको जियो प्लेटफर्मले भारतको इतिहासकै सबैभन्दा ठूलोमध्ये एक प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने घोषणा गरेको छ।

रिलायन्स इन्ड्रस्टिजको वार्षिक साधारण सभामा बोल्दै अम्बानीले जियोको आईपीओका लागि आवश्यक विवरणपत्र (ड्राफ्ट प्रोसपेक्टस) कम्पनीको सञ्चालक समितिबाट स्वीकृत भइसकेको जानकारी दिएका हुन्।

भारतको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी मानिने जियोका ५० करोडभन्दा बढी ग्राहक छन्। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कम्पनीले आईपीओमार्फत करिब ४ अर्ब अमेरिकी डलर बराबरको पूँजी जुटाउने लक्ष्य राखेको छ।

भारतीय सेयर बजारमा पछिल्ला महिनाहरूमा देखिएको उतारचढावका बीच जियोको आईपीओलाई लगानीकर्ताहरूले विशेष चासोका साथ हेरिरहेका छन्। अम्बानीले जियोको सूचीकरणले भारत विश्वस्तरका प्रविधि कम्पनी निर्माण गर्न सक्षम रहेको सन्देश दिने बताएका छन्।

“जियोको प्रस्तावित लिस्टिङले भारतले विश्वव्यापी स्तर, क्षमता र मूल्य भएका प्रविधि कम्पनी निर्माण गर्न सक्छ भन्ने कुरा संसारलाई प्रमाणित गर्नेछ,” अम्बानीले भने।

सन् २०१६ मा अत्यन्त सस्तो मोबाइल डाटा सेवा ल्याएर भारतीय दूरसञ्चार क्षेत्रमा क्रान्ति ल्याएको जियोले छोटो अवधिमै करोडौं ग्राहक आकर्षित गरेको थियो। त्यसयता कम्पनीले क्लाउड कम्प्युटिङ, डिजिटल सेवा, इन्टरप्राइज समाधान तथा कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा पनि आफ्नो प्रभाव विस्तार गर्दै आएको छ।

जियोको आईपीओको प्रतीक्षा लगानीकर्ताहरूले लामो समयदेखि गरिरहेका थिए। गत वर्ष अम्बानीले सन् २०२६ को पहिलो छ महिनाभित्र कम्पनीलाई सेयर बजारमा सूचीकृत गरिने संकेत दिएका थिए।

यता नेसनल स्टक एक्सजेन्जले (एनएसई)  पनि आफ्नो बहुप्रतीक्षित आईपीओका लागि आवश्यक कागजात पेश गरेपछि भारतीय पूँजी बजारमा थप उत्साह देखिएको छ। विश्लेषकहरूका अनुसार जियो र एनएसईको सूचीकरण हालका वर्षहरूमा भारतका सबैभन्दा ठूला आईपीओमध्ये पर्ने सम्भावना छ।

दूरसञ्चारसँगै एआई र डिजिटल पूर्वाधारमा आक्रामक विस्तार गरिरहेको जियोले हालै अर्को ठूलो सम्झौता पनि गरेको छ। मेटाले गुजरातमा रिलायन्सद्वारा निर्माणाधीन १६८ मेगावाट क्षमताको एआई-सक्षम डाटा सेन्टरको क्षमता भाडामा लिने घोषणा गरेको छ। यो सहकार्य सन् २०२० मा मेटाले जियोमा ५.७ अर्ब डलर लगानी गरेपछि सुरु भएको रणनीतिक साझेदारीको निरन्तरता मानिएको छ।

विश्लेषकहरूका अनुसार जियोको आईपीओ सफल भएमा यसले भारतको डिजिटल अर्थतन्त्र, प्रविधि क्षेत्र र पूँजी बजारमा नयाँ कीर्तिमान कायम गर्न सक्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट