स्टार्टअपलाई प्रोत्साहन गर्न ग्लोबल आइएमई बैंकले ल्यायो ‘उद्यमशाला’ कार्यक्रम
ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा लघु, साना र मझौला उद्यम (एमएसएमई) को प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस - २०२६ को अवसरमा आयोजित कार्यक्रममा बैंकले उद्यमशाला अन्तर्गत सञ्चालन हुने इन्क्युबेसन कार्यक्रमका लागि देशभरका नवप्रवर्तनकारी सोच भएका व्यक्ति तथा उद्यमीहरूबाट आवेदन आह्वान गरेको हो।
बैंकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नवीन व्यावसायिक सोच भएका व्यक्तिलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायलाई दिगो, प्रतिस्पर्धी र व्यवस्थित बनाउन आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञान, सीप र परामर्श उपलब्ध गराउनु हो।
काठमाडौंको कमलादीस्थित बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उद्यमशाला कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै आवेदन खुला भएको घोषणा गरे।
उनले लघु, साना तथा मझौला व्यवसायीहरूले भोगिरहेका साझा चुनौतीलाई सम्बोधन गर्न यो प्लेटफर्म तयार गरिएको बताउँदै विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकमार्फत सहभागीलाई व्यावहारिक ज्ञान र समस्या समाधानका उपाय उपलब्ध गराइने जानकारी दिए।
बैंकका अनुसार उद्यमशाला कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। इन्क्युबेसन कार्यक्रम नयाँ तथा नवप्रवर्तनकारी व्यवसायिक अवधारणा भएका तर उद्यमशीलताको यात्रा कसरी सुरु गर्ने भन्ने अन्योलमा रहेका युवालाई लक्षित हुनेछ। यसअन्तर्गत क्षमता अभिवृद्धि, व्यवसायिक सञ्जाल विस्तार तथा मार्गनिर्देशन प्रदान गरिनेछ।
त्यस्तै, एक्सिलेरेसन कार्यक्रम हाल व्यवसाय सञ्चालन गरिरहेका तर विस्तार र स्तरोन्नतिमा चुनौती भोगिरहेका उद्यमीका लागि हुनेछ। यसमा क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण तथा सम्बन्धित निकायसँग पहुँच विस्तारमा सहजीकरण गरिने बैंकले जनाएको छ।
कार्यक्रममार्फत सहभागीले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन व्यवस्थापन, वित्तीय योजना तथा बैंक तथा वित्तीय संस्थासँग पहुँच विस्तारजस्ता विषयमा व्यावहारिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापन, साझेदार संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस