उपत्यकामा एकै दिन बिक्यो ४० टन भक्तपुरको ब्रान्डेड 'ताइचिन चिउरा'
नेपालीहरूको मौलिक पर्व असार १५ अर्थात् “दही चिउरा खाने दिन” को अवसरमा भक्तपुरको प्रख्यात 'ताइचिन चिउरा' को रेकर्डतोड व्यापार भएको छ। स्थानीय उत्पादनको रूपमा देशैभर लोकप्रिय मानिएको भक्तपुरको ताइचिन चिउरा आज एकै दिन ४० टन (४० हजार किलो) बिक्री भएको हो।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका निवर्तमान अध्यक्ष एवं चिउरा व्यवसायी वीरेन्द्र जतिका अनुसार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) र काभ्रेपलाञ्चोकका विभिन्न सहरहरूमा गरी आज सो परिमाणको चिउरा खपत भएको हो। दहीसँग खानका लागि स्वादिष्ट र स्वास्थ्यवर्द्धक मानिने भएकाले चिउराका पारखीहरूको पहिलो रोजाइमा ताइचिन नै पर्ने गरेको जतिले बताए।
भक्तपुरमा सञ्चालित करिब २५ वटा चिउरा मिलहरूबाट सामान्यतया दैनिक २५ टन ताइचिन चिउरा उत्पादन हुने गर्दछ। तर, असार १५ का दिन काठमाडौँ उपत्यकाका होलसेल व्यापारी, सर्वसाधारण र रेस्टुरेन्टहरूबाट अत्यधिक माग आउने गर्दछ।
भक्तपुर नगरपालिका-६ भालाछेँस्थित प्रख्यात 'लक्ष्मी चिउरा उद्योग' का सञ्चालक समेत रहेका जतिले भने, "आज मात्रै मेरो मिलमा एक हजार किलो चिउराको माग थियो, तर हामीले ८०० किलो मात्रै उपलब्ध गराउन सक्यौँ।" हाल बजारमा भक्तपुरको शुद्ध ताइचिन चिउरा प्रतिकिलो २५० रुपैयाँमा बिक्री भइरहेको छ।
भक्तपुरबाट वार्षिक रूपमा करिब ३०० टन ताइचिन चिउरा काठमाडौँ उपत्यकामा मात्रै बिक्री हुने गरेको व्यवसायीहरूको तथ्याङ्क छ। स्थानीय बजारमा ताइचिन धानको अभाव हुन नदिन व्यवसायीहरूले सिजन अनुसार चैते धानका साथै चितवन, नुवाकोट, पनौती, नाला र भक्तपुरकै विभिन्न क्षेत्रबाट धान आयात गरेर वर्षभरि चिउरा उत्पादन गरिरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस