Techie IT
२०८३ असार १७, बुधबार

मल अभाव हटाउन सरकारको आक्रामक तयारी, साउनभित्र २.१ लाख मेट्रिक टन मल नेपाल आउँदै


कृषि, वन तथा वातावरण मन्त्रालयले साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ।

धान खेतीका लागि आवश्यक मलको आपूर्ति सुनिश्चित गर्दै किसानलाई राहत दिने उद्देश्यले मन्त्रालयले विभिन्न माध्यमबाट मल आयातको प्रक्रिया तीव्र बनाएको जनाएको छ।

मन्त्रालयका अनुसार सरकार–सरकार (जीटुजी) सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल ल्याइँदै छ। उक्त मल असारको अन्तिमदेखि साउनको दोस्रो साताभित्र नेपाल आइपुग्नेछ। भारतसँग जीटुजीमार्फत ८० हजार मेट्रिक टन मल आपूर्तिको सम्झौता भएकामा पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउनको दोस्रो सातासम्म नेपाल भित्रिने मन्त्रालयले जनाएको छ।

यस्तै, अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) मार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गरिनेछ। यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको छ। यी मल साउनको पहिलो सातासम्म नेपाल भित्र्याउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।

ओमानमा लोडिङ प्रक्रियामा रहेको ३० हजार मेट्रिक टन युरिया असारको अन्तिमसम्म कोलकाता बन्दरगाह आइपुग्ने र साउनको दोस्रो सातासम्म नेपाल भित्रिनेछ। त्यसैगरी, ३० हजार मेट्रिक टन डीएपी होर्मुज पार गर्दै विशाखापट्टनम बन्दरगाह पुगिसकेको छ। उक्त मल असार १९–२० गतेसम्म नेपाल आइपुग्ने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले जनाएको छ।

यस्तै, ३० हजार मेट्रिक टन युरिया जहाजमा लोड भइसकेको छ। उक्त मल साउनको पहिलो साता कोलकाता बन्दरगाह पुग्ने र साउनको अन्तिमसम्म नेपाल भित्रिनेछ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार कतारबाट ३० हजार मेट्रिक टन युरिया ढुवानी भइसकेको छ र असारको अन्तिम सातासम्म कोलकाता आइपुग्नेछ। त्यस्तै, साउदी अरेबियाबाट ३० हजार मेट्रिक टन युरिया लोड भइसकेको छ र असारको अन्तिम सातासम्म कोलकाता पुग्ने अपेक्षा गरिएको छ।

यसैगरी, भियतनामबाट ३० हजार मेट्रिक टन डीएपी लोड भइसकेको छ। उक्त मल असारको अन्तिम सातासम्म कोलकाता आइपुग्ने र साउनको दोस्रो सातासम्म नेपाल भित्रिने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको उपलब्धतामा केही असर परेको भए पनि किसानलाई आवश्यक मल उपलब्ध गराउन सरकार निरन्तर सक्रिय छ।

चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने मन्त्रालयको लक्ष्य रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट