भ्याट बिल लिने उपभोक्तालाई सरकारको बम्पर उपहार, मासिक १० लाख जित्ने मौका
सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्ने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ। अर्थ मन्त्रालयले ‘कर प्रोत्साहन उपहार सञ्चालन कार्यविधि’ स्वीकृत गरेसँगै यो महत्त्वाकांक्षी योजना औपचारिक रूपमा सुरु भएको हो।
नयाँ व्यवस्था अनुसार अब अनलाइन वा नगद भुक्तानी गरी सक्कली बिल लिने उपभोक्ताहरू मध्येबाट गोलाप्रथामार्फत हरेक दिन एक जनालाई १ लाख रुपैयाँ र प्रत्येक महिना दुई जनालाई १०-१० लाख रुपैयाँको बम्पर उपहार प्रदान गरिनेछ।
यस उपहार योजनामा सहभागी हुनका लागि उपभोक्ताले स्व-प्रयोजनका लागि नेपालभित्र एक पटकमा कम्तीमा १०० रुपैयाँ वा सोभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्दा सक्कली बिल लिनुपर्नेछ। मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध व्यावसायिक फर्म, होटेल वा रेस्टुरेन्टबाट खरिद गर्दा प्राप्त हुने बीजक (बिल) का आधारमा स्वचालित प्रणालीले विजेता छनोट गर्नेछ।
उपभोक्ताले प्राप्त गर्ने प्रत्येक योग्य बीजक र विद्युतीय भुक्तानीका आधारमा प्रणालीबाट एक-एक वटा उपहार टिकट स्वतः उपलब्ध हुने कार्यविधिमा उल्लेख छ।
उपहार योजनाको नतिजा प्रत्येक महिनाको १६ गते र मसान्त गरी पाक्षिक रूपमा सार्वजनिक गरिनेछ। जसअनुसार महिनाको १ देखि १५ गतेसम्म प्रविष्ट भएका बिलहरूबाट १६ गते र १६ गतेदेखि मसान्तसम्मका बिलहरूबाट महिनाको १ गते विजेता छनोट गरिनेछ। स्वचालित प्रणालीमार्फत प्रत्येक दिनका लागि एक जना (लखपति) र पाक्षिक रूपमा एक-एक जना गरी महिनामा दुई जना (बम्पर विजेता) छनोट हुनेछन्।
विजेताको घोषणा उच्चपदस्थ अधिकारी वा सञ्चारकर्मीको उपस्थितिमा गरिने र विजेतालाई मोबाइल नम्बर तथा इमेलमार्फत जानकारी गराइने अर्थ मन्त्रालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस