Techie IT
२०८३ कार्तिक १४, शुक्रबार

सञ्चार क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न मुख्यमन्त्री भट्टको निर्देशन


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशभित्र विद्युत् तथा सञ्चार क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्दै सेवा प्रवाह र पहुँच विस्तारका योजना अघि बढाउन कडा निर्देशन दिएका छन्।

नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम तथा एनसेलका प्रदेश/क्षेत्रीय प्रमुखहरूसँगको छलफलमा मुख्यमन्त्री भट्टले नागरिकका दैनिक समस्याप्रति जिम्मेवार बन्न आग्रह गर्दै अबका दिनमा कुनै पनि जनगुनासो नआउने गरी काम गर्न ताकेता गरेका छन्।

मुख्यमन्त्री भट्टले विद्युत् र सञ्चार सेवाको गुणस्तर सुधारका साथै दुर्गम क्षेत्रमा पहुँच पुर्‍याउनु प्रदेश सरकारको प्राथमिकता रहेको बताएका छन्। नागरिकले सहज, निरन्तर र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गर्नु सम्बन्धित निकायको कर्तव्य भएको भन्दै उनले समस्या समाधानका लागि तत्काल स्पष्ट योजना बनाएर कार्यान्वयनमा जुट्न भनेका छन्।

विद्युत् सेवातर्फ ट्रान्सफर्मरको अभाव, कम भोल्टेजका कारण 'डिम लाइट' को समस्या र दुर्गम क्षेत्रमा लाइन विस्तार हुन नसकेको विषयमा नागरिकबाट व्यापक गुनासो आएको उल्लेख गर्दै मुख्यमन्त्रीले यस्ता प्राविधिक समस्या अविलम्ब समाधान गर्न निर्देशन दिएका छन्। यस्तै, सञ्चार सेवा सुधारका लागि अप्टिकल फाइबरको द्रुत विस्तार, नेटवर्कको गुणस्तर अभिवृद्धि र टेलिफोन/इन्टरनेट नपुगेका दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाउन उनले जोड दिएका छन्।

प्रदेशका कुनै पनि नागरिक विद्युत् र सञ्चारजस्ता आधारभूत सेवाबाट वञ्चित हुन नहुने भन्दै मुख्यमन्त्री भट्टले सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय कायम गरी काम अघि बढाउन निर्देशन दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट