अण्डाको मूल्यमा प्रतिक्रेट ५० रुपैयाँले वृद्धि, किसान भने अझै घाटामा
बर्डफ्लुको प्रभावका कारण ओरालो लागेको अण्डाको मूल्य पुनः बढ्न थालेको छ। उत्पादनमा आएको गिरावट र बजारमा माग वृद्धि भएसँगै मूल्य उकासिएको हो।
नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको लागत तथा बजार स्थिति मूल्याङ्कन गरी नयाँ मूल्य निर्धारण गरेको छ। सङ्घका अनुसार आजदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ४ सय ५० रुपैयाँबाट बढेर ५ सय रुपैयाँ पुगेको छ। त्यसैगरी, मध्यम अण्डा प्रतिक्रेट ४ सय २० रुपैयाँबाट ४ सय ७० रुपैयाँ र सानो अण्डा ४ सय १५ रुपैयाँ पुगेको छ। सबै आकारका अण्डामा प्रतिक्रेट ५० रुपैयाँले वृद्धि भएको छ।
अण्डाको माग बढ्न थालेकाले मूल्य समायोजन गरिएको नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले जानकारी दिए। उनका अनुसार पहिले दैनिक करिब ४५ लाख अण्डा उत्पादन हुँदै आएकामा बर्डफ्लुका कारण उत्पादन घटेर अहिले दैनिक २८ लाखमा झरेको छ।
यसअघि गत जेठ अन्तिममा प्रतिक्रेट ५ सय ५० रुपैयाँमा बिक्री भएको अण्डाको मूल्य घटेर ४ सय ५० रुपैयाँसम्म आइपुगेको थियो। हाल एक क्रेट अण्डाको उत्पादन लागत ५ सय ७३ रुपैयाँ ६० पैसा (प्रतिगोटा १९ रुपैयाँ १२ पैसा) पर्छ।
मूल्यमा केही सुधार भए पनि किसानले अझै लागत मूल्य पाउन सकेका छैनन्। तर, बजारमा खपत बढेकाले छिट्टै लागत उठाउन सकिने आशामा किसानहरू छन्। अध्यक्ष पोखरेलले बर्डफ्लुका कारण ठूलो क्षति व्यहोरेका किसानलाई राहत उपलब्ध गराउन सरकारसँग मागसमेत गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस