Techie IT
२०८३ श्रावण १०, आइतबार

नेपाललाई ‘ग्रे लिस्ट’बाट जोगाउन जुर्मुराए आईएनजीओ


अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको साझा सञ्जाल (एआइएन) ले आफ्ना सदस्य संस्थाहरूका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

नेपाल सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को पाँचौँ संशोधनमार्फत गैरनाफामूलक (सामाजिक) क्षेत्रलाई समेत कानूनी क्षेत्राधिकारभित्र समेटेपछि एआइएनले यो पहलकदमी लिएको हो। नियामक निकायहरूले सामाजिक संघसंस्थाहरूका लागि आवश्यक कानूनी मापदण्ड र नियमनका ढाँचा तय गरिरहेको परिप्रेक्ष्यमा सरोकारवालाहरूलाई नीतिगत स्पष्टता प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

कार्यक्रममा बोल्दै एआइएनकी कोषाध्यक्ष सुजिता माथेमाले वित्तीय सुशासन कायम गर्नु कुनै एक संस्थाको मात्र नभई सबैको साझा जिम्मेवारी भएको बताइन्। नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’ मा पर्नुलाई चेतावनीका रूपमा मात्र नभई एउटा अवसरका रूपमा लिनुपर्छ । उनले भनिन्, “यो हाम्रा वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप परिमार्जन गर्दै नेपाललाई विश्वसामु पारदर्शी र जिम्मेवार राष्ट्रका रूपमा प्रस्तुत गर्ने अवसर हो।”

कोषाध्यक्ष माथेमाले ‘ग्रे लिस्टिङ’ को प्रभाव बहुआयामिक हुने उल्लेख गर्दै यसले वैदेशिक लगानी, अन्तर्राष्ट्रिय बैंकिङ कारोबार, रेमिट्यान्स प्रवाह र विकास साझेदारीमा गम्भीर असर पार्न सक्ने चेतावनी दिइन्। सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण (एएमएल-सीएफटी) केवल प्राविधिक वा कानूनी विषय मात्र नभई मुलुकको आर्थिक स्थायित्व र राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएको उनको भनाइ थियो।

कार्यक्रममा सरकारी प्रतिनिधि तथा प्राविधिक विज्ञहरूले सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य तथा आमविनाशका हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी विद्यमान नीतिगत व्यवस्था र कार्यान्वयनका चुनौतीबारे जानकारी गराएका थिए। नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ‘ग्रे लिस्ट’ बाट ‘ग्रिन लिस्ट’ मा स्तरोन्नति गर्ने राष्ट्रिय अभियानमा सामाजिक क्षेत्रका तर्फबाट यो कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

विभिन्न गैरसरकारी संस्थाका कार्यकारी प्रमुख तथा विभागीय प्रमुखहरूलाई नीतिगत ज्ञान र सचेतना प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सरकारी अधिकारी, प्राविधिक विज्ञ र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट