नेपालमा टिकटकको ठूलो कारबाही, तीन महिनामा हटाइए २० लाख भिडियो
लोकप्रिय छोटो भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ सार्वजनिक गरेको छ। नियम उल्लङ्घन गर्ने सामग्री र एकाउन्टमाथि गरिएको कारबाहीको विवरण सार्वजनिक गर्दै कम्पनीले सुरक्षित डिजिटल वातावरण निर्माणमा आफ्नो प्रतिबद्धता दोहोर्याएको हो।
प्रतिवेदन अनुसार समीक्षा अवधिमा नेपालबाट पोस्ट गरिएका कुल सामग्रीमध्ये २० लाख ३६ हजार १९१ वटा भिडियो नियम उल्लङ्घनका कारण हटाइएका छन्। यो नेपालमा सो अवधिमा अपलोड गरिएका कुल भिडियोको ०.४ प्रतिशत हो। नेपालमा नियम उल्लङ्घन गर्ने सामग्री पहिचान गर्न टिकटकको स्वचालित अटोमेटेड प्रणाली निकै प्रभावकारी देखिएको छ; जसअन्तर्गत ९९.५ प्रतिशत भिडियोहरू सर्वसाधारणले उजुरी (रिपोर्ट) गर्नुअघि नै प्रणालीले हटाएको थियो भने ९२.३ प्रतिशत भिडियो अपलोड भएको २४ घण्टाभित्रै हटाइएका थिए। यद्यपि, आन्तरिक पुनरवलोकन र प्रयोगकर्ताको अपिलपछि ३३ हजार ५०३ वटा भिडियो गल्तीवश हटाइएको ठहर गर्दै पुनर्स्थापना गरिएको छ।
यस अवधिमा टिकटकले विश्वभरबाट कुल १८ करोड ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाएको छ, जुन विश्वव्यापी रूपमा पोस्ट गरिएका कुल भिडियोको करिब ०.५ प्रतिशत हो।
प्लेटफर्मको विश्वसनीयता जोगाउन टिकटकले एकाउन्ट र कमेन्टको स्तरमा पनि ठूलो परिमाणमा कारबाही चलाएको छ। जसअन्तर्गत १४ करोड ६८ लाखभन्दा बढी नक्कली (फेक) एकाउन्ट र १३ वर्षभन्दा कम उमेरका बालबालिकाले सञ्चालन गरेको आशङ्कामा २ करोड ६८ लाखभन्दा बढी एकाउन्ट बन्द गरिएका छन्। यसै गरी, नीति उल्लङ्घन गरी अमर्यादित अभिव्यक्ति दिइएका २७ करोड ८३ लाखभन्दा बढी कमेन्टहरू हटाइएका छन्।
टिकटकले आफ्नो 'लाइभ' फिचरमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न नियमन प्रणालीलाई थप कडा पारेको जनाएको छ। समीक्षा अवधिमा कुल लाइभ सामग्रीमध्ये २.४ प्रतिशत निलम्बन गरिएको छ। साथै, ७ करोड ६७ लाखभन्दा बढी लाइभ सेसन र २ करोड ६७ लाखभन्दा बढी लाइभ क्रिएटरलाई चेतावनी दिइएको छ वा उनीहरूको मनिटाइजेसन (आम्दानी गर्ने सुविधा) खोसिएको छ। पछि पुनरावलोकन गरी २३ लाख ९८ हजारभन्दा बढी लाइभ सेसन पुनर्स्थापना गरिएको प्रतिवेदनमा उल्लेख छ।



तपाईको प्रतिक्रिया दिनुहोस