देश जोगाउन नयाँ आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर संकटमा रहेको भन्दै राष्ट्ररक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलनबाट पछि हटे देशको रक्षा गर्न नसकिने दाबी गरेका छन् ।
देश 'क्रिटिकल' अवस्थामा पुगेकाले आन्दोलनबाटै शक्ति आर्जन गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए। असहज र अप्ठ्यारो स्थिति छ, आन्दोलनबाहेक अर्को बाटोबाट जान खोज्यौँ वा आन्दोलन गर्ने आँट गरेनौँ भने हामी सफल हुन सक्दैनौँ । उनले भने, “आन्दोलनले नै टिकाउने, अघि बढाउने र जिताउने हो।”
सो क्रममा अध्यक्ष ओलीले सरकार र दक्षिणपन्थी शक्तिहरूमाथि कडा प्रहार गरे। लोकतन्त्र र शान्तिको दुहाई दिनेहरूले जनतालाई धोका दिँदै आतङ्कको राज सिर्जना गरेको आरोप लगाउँदै उनले सरकार फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको टिप्पणी गरेका छन् । प्रहरीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै ओलीले भने, “बोल्यो कि पुर्जी र गिरफ्तारी दिइन्छ। बिना बर्दी ढोका फोडेर भित्र पस्ने प्रहरी गुण्डा हो कि के हो? पुलिससँग पोसाक छैन?”
सिंगै राज्य नागरिक स्वतन्त्रता प्रयोग गर्न नसक्ने गरी निरीह बनेको दाबी गर्दै अध्यक्ष ओलीले नेता-कार्यकर्ताहरूलाई आन्दोलनको मानसिकताका साथ तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस