Techie IT
२०८३ असोज ६, मंगलबार

पूर्वको साम्प्रदायिक तनावले शेयर बजारमा गिरावट


निरन्तर उकालो लाग्ने संकेत देखाएको नेपालको पूँजी बजार पूर्वी नेपालमा फैलिएको साम्प्रदायिक तनावका कारण एकाएक ओरालो लागेको छ। सुनसरीको देवानगञ्जबाट सुरु भएको हिन्दु-मुस्लिम तनाव कोशी प्रदेशका अन्य जिल्लाहरूमा फैलिएसँगै त्यसको प्रत्यक्ष मनोवैज्ञानिक असर शेयर बजारमा देखिएको छ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पछिल्लो गिरावटको मुख्य कारण सामाजिक अस्थिरता नै रहेको बताएका छन्। उनले भने, "बजारमा कुनै पनि ठूलो आर्थिक वा नीतिगत गिरावटको कारण छैन। पूर्वमा देखिएको साम्प्रदायिक तनावले लगानीकर्ताको मनोबल कमजोर बनाउँदा बिक्री चाप बढेको हो।" साउन १० गतेपछि पूर्वका विभिन्न क्षेत्रमा सुरक्षा सतर्कता बढाउनु र तनाव कायम रहनुले लगानीकर्तामा 'पर्ख र हेर' को अवस्था सिर्जना गरेको छ।

प्राविधिक विश्लेषणले बजारको लय परिवर्तन भएको संकेत गरेको छ। केही दिनअघि २५५० बाट २७५० अंकसम्मको बलियो यात्रा तय गरेको नेप्से, तनावको समाचार सार्वजनिक भएसँगै ओरालो लागेको छ। पछिल्लो चार कारोबार दिनमा सूचक ६२.०२ अंकले घटेको छ भने बिहीबार मात्र १६.३० अंकको गिरावट आएर नेप्से २६७२.५८ विन्दुमा बन्द भएको छ।

विश्लेषकहरूका अनुसार, बजारमा अहिले 'नाफा सुरक्षित गर्ने' भन्दा पनि 'जोखिम घटाउने' प्रवृत्ति बढी देखिएको छ। साना र लगातार बन्ने राता क्यान्डलहरूले खरिदकर्ताभन्दा बिक्रीकर्ता हाबी भएको स्पष्ट पारेका छन्।

विशेषज्ञहरूका अनुसार व्यक्तिगत लगानीकर्ताको बाहुल्य रहेको नेपाली बजारमा यस्ता भावनात्मक प्रतिक्रियाहरू तीव्र हुने गर्दछन्। तनाव साम्य भए लगानीकर्ताको आत्मविश्वास पुनः फर्किने सम्भावना भए पनि, तनाव लम्बिएमा यसको नकारात्मक असर आर्थिक गतिविधि हुँदै पूँजी बजारमा अझै केही समय रहन सक्ने देखिन्छ। तत्कालका लागि बजार 'सतर्क मनस्थिति' मा देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट