एआईको प्रयोगलाई बेवास्ता गरे विकासशील देशहरू थप पछाडि पर्ने विश्व बैङ्कको चेतावनी
धनी राष्ट्रहरूको तुलनामा उदीयमान अर्थतन्त्रहरूमा रोजगारी गुम्ने जोखिम कम रहेको प्रतिवेदनमा जनाइएको छ
विश्व बैङ्कले विकासशील देशहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग तीव्र पार्न आग्रह गरेको छ। यदि यी देशहरूले एआईलाई बेवास्ता गरेमा उनीहरू थप पछाडि पर्ने चेतावनी विश्व बैङ्कले दिएको छ।
वार्षिक ‘विश्व विकास प्रतिवेदन’ सार्वजनिक गर्दै विश्व बैङ्कसमूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले एआईले विकासशील अर्थतन्त्रहरूका लागि महत्त्वपूर्ण अवसर प्रदान गरेको बताएका छन्। “एआईले विकासशील अर्थतन्त्रका लागि जीवनरेखाजस्तो अवसर दिएको छ र उनीहरूले यसको सदुपयोग गर्नुपर्छ,” उनले भने। उनले एआईका फाइदा लिन ठूला मोडेल वा विशाल डेटा सेन्टरहरू आवश्यक नपर्ने स्पष्ट पार्दै स्वास्थ्य, शिक्षा, न्याय र कृषि क्षेत्रमा स्थानीय आवश्यकताअनुसार कम लागतका एआई उपकरण प्रयोग गर्नुपर्नेमा जोड दिए।
मुख्य रूपमा अमेरिका र चीनमा विकास गरिएका अत्याधुनिक एआई मोडेलले ठूलो परिमाणमा तथ्याङ्क विश्लेषण गर्ने तथा दक्ष जनशक्तिले लामो समय लगाएर गर्ने कामलाई स्वचालित बनाउन सक्ने क्षमता राख्छन्। यद्यपि, यस्ता प्रणाली सञ्चालनका लागि विशाल डेटा सेन्टर र उच्च क्षमताका कम्प्युटिङ पूर्वाधार आवश्यक पर्दा अत्यधिक ऊर्जा तथा पानी खपत हुने र यसले जलवायु परिवर्तनमा समेत असर पार्न सक्ने प्रतिवेदनमा औँल्याइएको छ।
विकासशील अर्थतन्त्रहरू तीन दशकयताकै कमजोर औसत आर्थिक वृद्धिको अवस्थाबाट गुज्रिरहेको बेला एआईले सन् २०२० को दशकको अन्त्यसम्ममा उनीहरूको आर्थिक वृद्धिमा ठूलो योगदान पुर्याउन सक्ने विश्व बैङ्कको ठहर छ। प्रतिवेदनले महँगो चिकित्सा, कानुनी, शैक्षिक र कृषि सेवाबाट वञ्चित अर्बौं मानिससम्म एआईमार्फत सहज पहुँच पुर्याउन सकिने उल्लेख गरेको छ।
विश्व बैङ्कले विकासशील देशहरूमा रहेका करिब ६ अर्ब ८० करोड मानिस (विश्व जनसङ्ख्याको करिब ८३ प्रतिशत) का आवश्यकताअनुसार एआई उपकरणहरू अनुकूल बनाउनुपर्नेमा जोड दिएको छ। उदाहरणका लागि, बङ्गलादेशमा मधुमेह परीक्षणको विस्तार तथा भारतमा उन्नत मौसम पूर्वानुमानमार्फत किसानहरूलाई सहयोग पुर्याउने एआई प्रयोगका सफल अभ्यासहरू प्रतिवेदनमा प्रस्तुत गरिएका छन्। साथै, स्मार्टफोनको पहुँच नभएका नागरिकका लागि सामान्य मोबाइल फोनमा आवाजमार्फत प्रयोग गर्न सकिने एआई समाधान विकास गर्नुपर्ने सुझाइएको छ।
धनी राष्ट्रहरूको तुलनामा उदीयमान अर्थतन्त्रहरूमा रोजगारी गुम्ने जोखिम कम रहेको प्रतिवेदनमा जनाइएको छ। कम र मध्यम आय भएका देशहरूमा ४.५ प्रतिशत रोजगारी मात्र जोखिममा रहेको तर धनी देशहरूमा यो जोखिम १४.२ प्रतिशतसम्म रहेको पाइएको छ।
तर, एआई विस्तारका क्रममा सरकारी निर्णयमा पूर्वाग्रह देखिन सक्ने, व्यक्तिगत तथ्याङ्कको गोपनीयता कमजोर हुने, देशबीचको आर्थिक खाडल फराकिलो बन्ने र आन्तरिक असमानता बढ्ने जोखिमप्रति पनि प्रतिवेदनले सचेत गराएको छ। विकासशील देशहरूले विद्युत् उत्पादन, इन्टरनेट पहुँच, डिजिटल सीप र स्थानीय तथ्याङ्क प्रणालीमा सुधार गर्दै अघि बढ्नुपर्ने विश्व बैङ्कको सुझाव छ।



तपाईको प्रतिक्रिया दिनुहोस