किन बैंकिङ प्रणालीमा थुप्रियो साढे १३ खर्बभन्दा बढी लगानीयोग्य रकम ?
बैंकिङ क्षेत्रमा अत्यधिक निक्षेप (डिपोजिट सरप्लस) थुप्रिए पनि बजारमा कर्जाको माग हुन सकेको छैन। मंगलबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले ब्याजदर इतिहासकै तल्लो बिन्दुमा झर्दा पनि कर्जा प्रवाह बढ्न नसकेको बताएका छन्।
सीईओ ज्ञवालीले रेमिट्यान्स आप्रवाहमा भएको वृद्धिका कारण बैंकिङ प्रणालीमा निक्षेप बढेको बताए। मासिक रूपमा २ खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएर वैदेशिक मुद्रा सञ्चिति बढे पनि ५० लाखभन्दा बढी युवा विदेशिएका कारण आन्तरिक उपभोगको शैली भने प्रभावित भएको उनको भनाइ छ। उपभोग घटेका कारण हरेक उद्योग–व्यवसायको टर्नओभर खस्किएको छ भने असार मसान्तयता मात्रै बैंकिङ क्षेत्रमा कर्जा प्रवाह ३० अर्ब रुपैयाँले घटेको छ।
हाल बैंकिङ क्षेत्रमा साढे १३ देखि १४ खर्ब रुपैयाँको हाराहारीमा लगानीयोग्य रकम (सरप्लस) रहेको उल्लेख गर्दै सीईओ ज्ञवालीले यो रकम सरकारको एक वर्षको पुँजीगत खर्च क्षमताभन्दा तीन गुणा बढी भएको बताए। ब्याजदर सिङ्गल डिजिटभन्दा पनि तल झर्दासमेत कर्जाको माग नहुनुको मुख्य कारण अर्थतन्त्रमा माग र विश्वासको कमी रहेको उनको विश्लेषण छ।
व्यवसायीहरूमा छाएको निराशा हटाउन सरकारले विशेष पहलकदमी लिनुपर्नेमा जोड दिँदै ज्ञवालीले वित्तीय अपराध र फौजदारी अभियोगलाई अलग्याइनुपर्ने बताएका छन् । “कसैले आर्थिक अपराध गरेको छ भने त्यसलाई आर्थिक रूपमै जरिवाना गरिनुपर्छ, तर थुनेर दुःख दिनुको साटो कानुन स्पष्ट पारियो भने उद्यमीको मनोबल फर्कन्छ,” उनले भने। इमानदार व्यवसायीको सम्मान र बदमासलाई कारबाही गर्ने प्रणाली विकास गरेमा ५–६ महिनामै बजार सकारात्मक दिशामा जान सक्ने उनको तर्क छ।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) भित्र्याउने प्रक्रियामा केही सहजता आए पनि ६ खर्बको प्रतिबद्धता आउँदा वास्तविक लगानी साढे ३ खर्ब मात्र भित्रिनु चिन्ताको विषय भएको उनले बताएका छन् । आन्तरिक लगानीकर्ताको मनोबल सुरक्षित नभएसम्म बाहिरबाट लगानी भित्रिन कठिन हुने उनको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस