नेपाली पुरातात्त्विक सामग्री आयातमा अमेरिकाले लगायो कडा रोक
अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकाय (यूएस सीबीपी)ले नेपालबाट अमेरिका आयात हुने पुरातात्त्विक तथा सांस्कृतिक सामग्रीमा कडा प्रतिबन्ध लगाएको छ।
यूएस सीबीपीले नेपालबाट आयात हुने यस्ता सामग्रीका लागि अन्तिम नियम जारी गर्दै नेपालबाट ती सामग्री कानुनी रूपमा निर्यात भएको र नेपालको निर्यातसम्बन्धी कानुन उल्लंघन नभएको प्रमाणित गर्ने आधिकारिक कागजात अनिवार्य गरेको हो।
नयाँ व्यवस्था सन् २०२६ अगस्ट १२ देखि २०३१ जनवरी ८ सम्म लागू हुनेछ। म्याद थप नभएमा उक्त अवधिसम्म यो व्यवस्था कायम रहनेछ।
अमेरिकी नियमअनुसार प्रतिबन्धको दायरामा इसापूर्व ३२ हजारदेखि सन् १७७० सम्मका पुरातात्त्विक सामग्री समेटिएका छन्। यसमा ढुंगा, सिरेमिक, माटो, धातु, प्लास्टर, स्टुको, चित्रकला, हात्तीको दाँत, हड्डी, काँच, छाला, भोजपत्र, कागज, ताडपत्र, काठ, सिपी तथा अन्य जैविक सामग्रीबाट बनेका वस्तुका साथै मानव अवशेषसमेत रहेका छन्।
त्यसैगरी, १३औँ शताब्दीदेखि सन् १९५० सम्मका धार्मिक वास्तुकलाका अवयव, धार्मिक तथा संस्कारजन्य सामग्री र हस्तलिखित ग्रन्थलाई पनि प्रतिबन्धको दायरामा राखिएको छ।
अब नेपालबाट अमेरिकातर्फ यस्ता सामग्री लैजाँदा ती सामग्री नेपालबाट कानुनी रूपमा बाहिरिएको प्रमाणित गर्ने कागजात आवश्यक पर्नेछ। अर्थात् नेपालको निर्यात कानुनविपरीत बाहिरिएका वा त्यस्तो कानुनी प्रमाण नभएका पुरातात्त्विक तथा सांस्कृतिक सामग्री अमेरिकामा आयात गर्न कठिन हुने भएको छ।
अमेरिकाको यो कदमले नेपालको पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा विदेशमा अवैध रूपमा पुग्ने सम्भावनालाई नियन्त्रण गर्ने प्रयासका रूपमा अर्थ राख्ने भए पनि वैध रूपमा निर्यात वा प्रदर्शनीका लागि लैजाने सामग्रीका हकमा आवश्यक प्रमाण तथा कागजात व्यवस्थापनलाई थप महत्वपूर्ण बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस