Techie IT
२०८३ भाद्र २१, आइतबार

नेपालका बाढीपीडितका लागि २९ भन्दा बढी देशको सहयोग


विश्वका २९ भन्दा बढी देशले नेपालका बाढीपीडितका लागि उद्धार टोली तथा आपतकालीन राहत सामग्री उपलब्ध गराएका छन् ।

परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हालसम्म हामीले निकट छिमेकी, मित्रराष्ट्र, अन्तर्राष्ट्रिय संघ–संस्थाहरू तथा परोपकारी व्यक्तिहरूबाट उदार सहयोग प्राप्त गरेका छौँ ।”

विपद प्रभावित क्षेत्रमा भारत, चीन, संयुक्त अरब इमिरेट्स (यूएई), बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, जर्मनी, लात्भिया, लक्जमबर्ग, मलेसिया, म्यान्मार, भुटान, बंगलादेश, पाकिस्तान, नर्वे, इजरायल, क्यानडा, श्रीलंका, थाइल्यान्ड, भियतनाम, न्युजिल्यान्ड, डेनमार्क, स्विट्जरल्यान्ड, आयरल्यान्ड र चेक रिपब्लिकले विभिन्न सहायता सामग्री पठाएका छन् ।

यसैगरी, युरोपेली संघ, एसियाली विकास बैंक, विश्व बैंक, संयुक्त राष्ट्रसंघ र यसका विशिष्टीकृत एजेन्सीहरूले पनि बाढीपीडितलाई सहायता उपलब्ध गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले भनेको छ, “नेपालले उपलब्ध सबै स्रोत र साधन परिचालन गरेको छ, तर विपद्को यो आकार र जटिलतालाई मध्यनजर गर्दै हामीलाई निरन्तर अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सहयोगको आवश्यकता छ ।”

छिमेकी भारतले खोज तथा उद्धारका लागि सुरुङ (टनेल) विज्ञ, चिकित्सक र फोरेन्सिक विज्ञसहितको ठूलो टोली र ठूलो मात्रामा राहत सामग्री नेपाल पठाएको छ । त्यस्तै, चीनबाट पनि राहत सामग्रीसहित सुरुङ र फोरेन्सिक विज्ञहरूको टोली आएको छ भने दक्षिण कोरिया र सिंगापुरबाट पनि खोज तथा उद्धार टोली नेपाल आएका छन् ।

रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीले ठूलो जनधनको क्षति गरेपछि अन्तर्राष्ट्रिय समुदायले नेपाललाई यो सहयोग जुटाएको हो । उक्त बाढीमा परी एक हजार ३४१ जनाको मृत्यु भइसकेको छ भने करिब पाँच हजार मानिस सम्पर्कविहीन छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट