बिहीबारदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली (न्यूनचापीय क्षेत्र) मजबुत बन्दै गएसँगै यस साताको अन्त्यमा देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आगामी बिहीबार (कार्तिक १२ गते) देखि देशका धेरै स्थानमा मौसममा उल्लेखनीय परिवर्तन आउनेछ।
महाशाखाका अनुसार आज र बुधबारसम्म भने ठूलो वर्षा वा मौसममा विशेष परिवर्तनको सम्भावना नरहेको र कात्तिक ११ गतेसम्म कुनै मौसमी चेतावनी जारी गरिएको छैन। तर, आगामी बिहीबार (कार्तिक १२) का दिन कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा, लुम्बिनीका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। विशेषगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
चक्रवात बन्ने सम्भावना र विज्ञहरूको चेतावनी
भारतीय मौसम विज्ञान विभाग (IMD) का अनुसार बंगालको खाडीमा रहेको उक्त न्यूनचापीय क्षेत्र गहिरो न्यूनचापीय क्षेत्रमा परिणत भई सोमबार बिहानसम्म चक्रवातको रूप लिन सक्नेछ। उक्त प्रणाली शक्तिशाली बन्दै भारतको आन्ध्र प्रदेश र ओडिसा तट हुँदै बिहारमार्फत नेपालमा समेत असर पार्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले उल्लेख गरेका छन्।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. विनोद पोखरेलले बिहीबारदेखि शनिबार (कार्तिक १४) सम्म लुम्बिनीदेखि कोसी प्रदेशसम्मका धेरै स्थानमा भारी वर्षा हुन सक्ने विश्लेषण गरेका छन्। हालको पूर्वानुमान अनुसार यस प्रणालीबाट करिब २९ जिल्ला वर्षाजन्य जोखिममा पर्न सक्ने देखिएको छ भन्दै उनले भारी वर्षाको समय र मात्रा थप परिवर्तन हुन सक्ने बताएका छन्।
सतर्कता अपनाउन आग्रह
संभावित बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावका कारण दैनिक जनजीवन, कृषि (विशेषगरी धानबाली भित्र्याउने बेलाका किसान), स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात र पर्वतारोहणमा असर पर्न सक्ने भएकाले महाशाखाले सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
मौसमविद्हरूले विशेषगरी हिमाली क्षेत्रको पदयात्रामा जाने पर्यटक र स्थानीय बासिन्दालाई यी दिनहरूमा यात्रा नगर्न वा नगराउन सुझाव दिएका छन्। विभागले आगामी दिनमा मौसमसम्बन्धी नियमित बुलेटिनमार्फत थप अपडेट गराउने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस