बाढीका कारण स्थगित करदाता प्रोत्साहन पुरस्कार असोज १ गते घोषणा हुने
रसुवाको भोटेकोसीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन पुरस्कार आगामी असोज १ गते घोषणा हुने भएको छ।
अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले भदौ महिनाभरको कारोबारका आधारमा ३१ जनालाई जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ र दुई जनालाई जनही १० लाख रुपैयाँ बम्पर पुरस्कार प्रदान गर्ने तयारी गरेको छ।
करदातालाई अनिवार्य बिल लिन तथा कर तिर्ने प्रणालीमा अभ्यस्त गराउने उद्देश्यले नयाँ आर्थिक वर्षको बजेटमार्फत सरकारले यो प्रोत्साहन कार्यक्रम सञ्चालनमा ल्याएको हो।
गएको साउन १ गतेदेखि सुरु भएको यस कार्यक्रमअन्तर्गत भदौ १६ गते पुरस्कार घोषणा गर्ने तालिका रहे पनि भोटेकोसी बाढीले देशमा विपद् सिर्जना गरेपछि कार्यक्रम स्थगित गरिएको थियो। आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले अब आगामी असोज १ गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी सम्पूर्ण तयारी पूरा भइरहेको जानकारी दिएका छन्।
विभागका अनुसार पुरस्कार वितरणलाई दुई चरणमा विभाजन गरिएको छ:
पहिलो चरण (भदौ १–१५): यस अवधिमा बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट दैनिक एक जनाका दरले १५ जनालाई जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ र सोही अवधिका उपभोक्ताबाट एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरिनेछ।
दोस्रो चरण (भदौ १६–३१): यस अवधिमा कारोबार गर्ने उपभोक्तामध्येबाट १६ जनालाई जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँको अर्को बम्पर पुरस्कारका लागि छनोट गरिनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस