असोज १९ देखि इन्टरनेट प्याकेजको मूल्य बढ्ने
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (ISP Association of Nepal) ले आगामी असोज १९ गतेदेखि हाल सञ्चालनमा रहेका सस्तो मूल्यका र कम गतिको इन्टरनेट प्याकेजहरू उपलब्ध गराउन नसक्ने घोषणा गरेको छ।
संघका अध्यक्ष सुधिर पराजुलीद्वारा जारी विज्ञप्तिमा पछिल्ला वर्षहरूमा भएको मूल्यवृद्धि, मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य, फाइबरको लागत वृद्धि, उच्च मुद्रास्फीति तथा कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै इलेक्ट्रोनिक्स तथा चिपसेटको मूल्य बढेकाले सेवा सञ्चालनमा कठिनाइ भएको उल्लेख छ।
विगत १२ वर्षमा नेपालले इन्टरनेटको पहुँच र प्रभावमा उल्लेख्य प्रगति गरेको र फिक्स्ड ब्रोडब्यान्डको घनत्वमा दक्षिण एसियामै पहिलो स्थानमा रहनुका साथै विश्वकै सस्तोमध्येको इन्टरनेट उपलब्ध गराएको संघको दाबी छ।
कोरोना महामारीदेखि भोटेकोशी बाढीसम्मको विषम परिस्थितिमा समेत निरन्तर सेवा दिएको स्मरण गर्दै संघले गुणस्तरीय सेवा निरन्तर प्रदान गर्न सबै सेवा प्रदायकलाई आग्रह गरेको छ। साथै, नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेट वेबसाइटमा राख्न र ग्राहकहरूलाई अनिवार्य रूपमा भ्याट बिल लिन अनुरोध गर्दै कठिन समयमा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गरिएको छ।




तपाईको प्रतिक्रिया दिनुहोस