हसिनाको गृहजिल्ला गोपालगञ्जमा प्रतिबन्धित अवामी लिगको उग्र प्रदर्शन
बंगलादेशको प्रतिबन्धित राजनीतिक दल अवामी लिगका सयौँ कार्यकर्ताले आइतबार पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा उग्र प्रदर्शन गरेका छन् । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनका क्रममा प्रहरीको अवरोध तोड्दै कार्यकर्ताहरूले सार्वजनिक संरचना, स्मारक र सुरक्षाकर्मीका सवारीसाधनमा तोडफोड गरेका छन् ।
बिहान ११ बजेदेखि दिउँसो पौने २ बजेसम्म चलेको प्रदर्शनमा जिल्लाका विभिन्न क्षेत्रबाट आएका अवामी लिग, युवा लिग र छात्र लिगका कार्यकर्ता सहभागी थिए । राष्ट्रिय झण्डासहित लाठी, खुकुरी, भाला र बन्चरो बोकेर सडकमा उत्रिएका प्रदर्शनकारीले हसिना र पार्टीको पक्षमा नाराबाजी गर्दै टायर बालेर यातायात अवरुद्ध पारेका थिए । प्रदर्शनमा महिला कार्यकर्ताको समेत उल्लेख्य उपस्थिति थियो ।
बन्द कार्यालय कब्जा र नामपट्टी परिवर्तन
लन्च घाट, वुमेन्स कलेज र शिल्पकला एकेडेमी हुँदै अघि बढेको जुलुस बैंकपारास्थित अवामी लिगको जिल्ला कार्यालयमा प्रवेश गरेको थियो । प्रदर्शनकारीले लामो समयदेखि बन्द रहेको उक्त कार्यालयको ताला खोलेर उत्सव मनाएका थिए ।
त्यसक्रममा लन्च घाटनजिक रहेको ‘जुलाई स्मारक’ मा तोडफोड गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीले गोपालगञ्ज विज्ञान तथा प्रविधि विश्वविद्यालयस्थित ‘हादी स्क्वायर’ को नामपट्टी हटाएर पुनः ‘जय बङ्गला चत्तर’ राखेका छन् भने गोपालगञ्ज सरकारी कलेजको प्रवेशद्वारमा ‘गभर्मेन्ट बङ्गबन्धु कलेज’ लेखिएको ब्यानर टाँगेका छन् ।
प्रदर्शनकारीले एक सुपरमार्केट र प्रहरी बिटका सिसा फुटाउनुका साथै प्रहरीको बख्तरबन्द गाडीमा चढेर पछाडिको ऐना फुटाएका थिए । उनीहरूले उक्त गाडीमा रातो रङ पोतेर ‘जय बङ्गला, जय बङ्गबन्धु’ समेत लेखेका छन् ।
प्रदर्शनलाई मध्यनजर गर्दै गोपालगञ्जका संवेदनशील क्षेत्रमा प्रहरी, सीमा सुरक्षा बल (बीजीबी), विशेष प्रतिक्रिया बटालियन र सशस्त्र प्रहरी ठूलो सङ्ख्यामा परिचालन गरिएको थियो । बंगलादेशको गृह मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार सरकारले घटनालाई नजिकबाट निगरानी गरिरहेको छ । तत्काल बल प्रयोग गर्दा मानवीय क्षति हुन सक्ने भएकाले सुरक्षाकर्मीले संयमता अपनाएको ती अधिकारीले बताएका छन् । घटनापछि स्थिति नियन्त्रणमा राख्न गोपालगञ्जमा बीजीबीका थप छ प्लाटुन सुरक्षाकर्मी परिचालन गरिएको छ ।
देशव्यापी बन्द र हसिना फर्काउने घोषणा
सन् २०२४ को जुलाईमा भएको जनविद्रोहपछि सत्ताच्युत भएकी हसिना अगस्टदेखि भारतमा निर्वासनमा छिन् । गोपालगञ्ज हसिनाको गृहजिल्ला भएकाले यसलाई अवामी लिगको बलियो पकड क्षेत्र मानिन्छ ।
अवामी लिगले नोभेम्बर १४ देखि १९ सम्म देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ, जसमा नोभेम्बर १७ लाई ‘कालो दिवस’ का रूपमा मनाउने र नोभेम्बर १९ मा देशव्यापी बन्द गर्ने उल्लेख छ । पार्टीका संगठन सचिव एसएम कमल हुसेनले हसिना आगामी डिसेम्बरमा बंगलादेश फर्किने दाबी गर्दै त्यसकै तयारीस्वरूप देशव्यापी आन्दोलन थालिएको बताएका छन् । त्यस्तै, गोपालगञ्ज जिल्ला अवामी लिगका कार्यालय सचिव इलियास हकले हसिनालाई स्वदेश नफर्काएसम्म सडक आन्दोलन नरोकिने चेतावनी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस