Techie IT
२०८३ मंसिर ५, शुक्रबार

१५० मेगावाट बिजुली किन्न प्राधिकरणले फेरि बोलपत्र आह्वान गर्ने


आगामी सुख्खायाममा विद्युत आपूर्ति सहज बनाउन नेपाल विद्युत प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । सन् २०२७ को जनवरीदेखि मे महिनासम्म विद्युत आयात गर्ने गरी प्राधिकरणले अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गर्ने तयारी गरेको हो ।

भारतका अनुमतिप्राप्त विद्युत व्यापारिक कम्पनीहरूसँग प्रतिस्पर्धात्मक दरमा बिजुली किन्न बोलपत्र माग गर्न लागिएको प्राधिकरण सञ्चालक समितिले जनाएको छ । समिति सदस्य अंशु किरण शाहीका अनुसार प्राधिकरणले १५० मेगावाट विद्युत चौबिसै घण्टा अर्थात् 'राउन्ड द क्लक' (आरटीसी) मोडमा खरिद गर्ने योजना बनाएको छ ।

पछिल्ला दुई-तीन वर्षदेखि सुख्खायाममा आन्तरिक उत्पादनले माग धान्न नसक्दा प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स) को 'डे अहेड' र 'रियल टाइम' मार्केटबाट बिजुली किन्दै आएको छ । यस वर्ष भोटेकोशी नदीमा आएको हिमबाढीका कारण निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजनाको करिब ४३० मेगावाट विद्युत प्रणालीबाट बाहिरिएपछि आपूर्ति व्यवस्थापन थप चुनौतीपूर्ण बनेको छ ।

प्राधिकरणको विद्युत व्यापार विश्लेषण समितिले गत भदौ २५ गते नै जनवरीदेखि मेसम्म १५० मेगावाट बिजुली आरटीसी मोडमा किन्न व्यवस्थापनसमक्ष सिफारिस गरेको थियो । अप्रिल र मे महिनामा माग झनै बढ्ने भएकाले त्यसबेलाको अवस्था र भारतीय बजारको उपलब्धता हेरेर आईईएक्सबाट थप विद्युत खरिद गर्नुपर्ने समितिको निष्कर्ष छ ।

आगामी सुख्खायामसम्म राष्ट्रिय प्रणालीमा करिब ३०० मेगावाट क्षमताका नयाँ आयोजना जोडिने अपेक्षा छ । तर, हिउँदमा नदीको बहाव घट्ने भएकाले ती आयोजनाबाट करिब ९० मेगावाट मात्रै विद्युत उत्पादन हुने अनुमान छ, जसले आन्तरिक उत्पादनबाटै माग धान्न कठिन हुने देखिन्छ ।

पुरानो सम्झौता भाँडिएपछि नयाँ प्रक्रिया
यसअघि प्राधिकरणले १५० मेगावाट बिजुली किन्न तीन भारतीय कम्पनीसँग दररेट प्रस्ताव मागेको थियो । जसमा एनटीपीसी ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रतियुनिट ६ रुपैयाँ ९० पैसा (भारु), मनिकरण इनर्जी लिमिटेडले ८ रुपैयाँ ५० पैसा (भारु) र एसजेभीएन लिमिटेडले ९ रुपैयाँ (भारु) प्रस्ताव गरेका थिए ।

सबैभन्दा कम दर प्रस्ताव गर्ने एनटीपीसीलाई प्राधिकरणले असोज १६ गते आशयपत्र (एलओआई) जारी गरी असोज २९ गते सम्झौताका लागि बोलाएको थियो । तर, असोज ३० गते पत्र पठाउँदै एनटीपीसीले पुरानो दरमा सम्झौता गर्न नसक्ने जानकारी गरायो । भूराजनीतिक अनिश्चितता, कोइला तथा इन्धनको मूल्यवृद्धि, एल निनो प्रभाव र भारतभित्रै बढेको विद्युत मागलाई कारण देखाउँदै एनटीपीसीले दर पुनरावलोकन गर्नुपर्ने अडान लिएको छ ।

भारतीय बजारमा महँगियो बिजुली
यसैबीच, भारतीय विद्युत बजारको 'डे अहेड मार्केट' मा गत असोजको औसत बजार समायोजन मूल्य (एमसीपी) प्रतियुनिट ७ रुपैयाँ ३४ पैसा भारु (११ रुपैयाँ ७४ पैसा नेरु) पुगेको छ । भारतीय बजारमै बिजुली महँगिएपछि अघिल्लो प्रस्तावित दरमा सम्झौता हुन नसकेको हो ।

पुरानो दरमा सम्झौता नहुने निश्चित भएपछि र सुख्खायाममा माग तथा आपूर्तिको खाडल बढ्ने देखिएपछि प्राधिकरणले नयाँ प्रतिस्पर्धात्मक बोलपत्रको बाटो रोजेको हो । समयमै आयातको सुनिश्चितता गर्न सके आगामी हिउँदको आपूर्ति जोखिम न्यूनीकरण गर्न सकिने प्राधिकरणको विश्वास छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट